मलाई जिताउनुस्, सबै तहमा कांग्रेसको सरकार बनाउँछु : देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी तीनै तहमा कांग्रसको सरकार बनाउनका लागि आफूलाई जिताउन आग्रह गरेका छन्।
शुक्रबार कांग्रेसको १४औं महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले डर त्रासबाट समाजलाई मुक्त गर्नुपर्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको बताए। आफूले प्रधानमन्त्री भएपछि डर त्रासको वातावरण अन्त्य भएको उनको भनाइ थियो।
अब सबै तहमा कांग्रेसको सरकार बनाउन पार्टी सभापतिमा आफूलाई जिताउँन उनले आग्रह गरे। कांग्रेस सभापति देउवाको भनाइ उनकै शब्दमा :
एउटा कुरा स्पष्ट भन्न चाहन्छु, जुन दिन मेरो सरकार बन्यो, त्योभन्दा अगाडिका दिन हेर्नुस्, कस्तो थियो, डर त्रास। देशभर कस्तो अवस्था थियो?
म प्रधानमन्त्री भएको भोलिपल्टै सारा मान्छेलाई मुक्ति पाएजस्तो भयो। ओलीको शासनबाट मुक्ति पाए सबैले।
त्यस्तो अवस्थाबाट अब हाम्रा अगाडि (प्रश्न उठेको छ) त्यो मुक्तिलाई बचाउने हो कि नबचाउने? बचाउने हो। त्यसका लागि यो महाधिवेशन तय गर्नुपर्छ।
डर त्रासबाट मुक्त समाज, फेरि कुनै किसिमको तानाशाही सरकार नआओस् भन्नका लागि यो महाधिवेशनले निर्णय गर्नुपर्छ। निर्णय गरेको खण्डमा आउँदो सरकार कांग्रेसको हुन्छ, गाउँदेखि माथिसम्म। त्यो मेरो जिम्मा भयो।
त्यसकारण देशभरीबाट अधिवेशनमा आउनु भएको छ, कहिँ सहमतिले आउनु भयो होला, कहिँ प्रतिस्पर्धा पनि भयो होला। तर, प्रतिस्पर्धाबाट कुनै किसिमको मनमुटाव, कलुसिता, मनोमालिन्यताबाट मुक्त हुनुपर्ने अवस्था छ।
किनभने, भोलि चुनाव आउँदै छ। स्थानीय तहको चुनाव आउँछ, माथिको चुनाव आउँछ। यो अहिलेको हाम्रो आन्तरिक निर्वाचनले स्थानीय निर्वाचनमा, राष्ट्रिय निर्वाचनमा कुनै किसिमको समस्या नआओस्। त्यसकारण अहिलेदेखि नै हामीले सबै साथीभाइलाई मिलेर अगाडि बढाउनु छ।
कांग्रेसको सरकार रहिरह्यो भने स्थानीय सरकार कांग्रेसको हुनेछ, राष्ट्रिय सरकार कांग्रेसको हुनेछ। त्यसका लागि मलाई यो पल्ट जिताइदिनुस्।
मलाई धेरै कुरा भन्नु छैन, म कुनै पनि हालतमा डर त्रासबाट मुक्त शासन ल्याएरै छोड्छु। डर त्रासबाट मुक्त समाज बनाएर नेपालमा कांग्रेसको सरकार बनाउँछु, बनाउँछु, बनाउँछु। बनाइन्छ, बनाइन्छ, बनाइन्छ। तपाईहरू मलाई साथ दिनुहोस्।