ओली, नेपाल र दाहालको एउटै बोली
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा हुँदादेखि धमिलिएको सम्बन्धमा सुधार नआए पनि पूर्व प्रधानमन्त्रीहरू केपी शर्मा ओली, माधवकुमार नेपाल र पुष्पकमल दाहालले नेपाली कांग्रेसको मञ्चमा भने एउटा विषयमा साझा धारणा राखे।
काठमाडौंमा शुक्रबार शुरू कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तब्य राख्ने क्रममा नेकपा (एमाले) का अध्यक्ष ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपाल र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहालले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनको अभिव्यक्तिको विषयमा समान धारणा राखेका हुन्।
राप्रपा अध्यक्ष लिङदेनले ‘नेता आयो भन्दा मान्छेहरू कुन नेता आएछ भनेर नाम सोध्दैनन्। कुन चाहिं चोर आएछ त्यहाँ भन्छ मान्छेले, हाम्रो अवस्था यो छ’ भनेपछि ओली र दाहाल उनीमाथि खनिएका थिए। एकीकृत समाजवादीका अध्यक्ष नेपालको अभिव्यक्ति राजतन्त्र लक्षित थियो। लिङ्देनले राजतन्त्रसहितको प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने अभिव्यक्ति दिएका थिए।
चितवनमा सम्पन्न एमालेको १०औं महाधिवेशनमा समेत सहभागी नभएका नेपाल र दाहाल तथा ओली भनाइ यस्तो थियोः
भर्खरको बाच्छो हिंड्न जान्दैन : केपी शर्मा ओली
जन्मँदै शासक भएर जन्मने सिद्धान्त संयुक्त राष्ट्रको मान्यता विपरीत छ। यो नागरिक स्वाभिमानको विपरीत छ। हरेक नेता चोर हुन्छ भन्ने जस्ता कुरा बोकेर हिंड्ने? हुन त भर्खर-भर्खर अध्यक्षमा छानिएको रापताप होला केही साथीहरूलाई। भर्खर-भर्खरको बाच्छो हिंड्न जान्दैन अलि बढी कुद्छ क्या!
हामी सतर्क हुन जरुरी छ : पुष्पकमल दाहाल
विचार व्यक्त गर्ने क्रममा अघि एक जनाले गाउँघरतिर नेता आयो भने चोर आयो भन्छन् भने। के यो कुरा साँचो हो त साथीहरू? होइन, गलत हो। जब लोकतन्त्र र शान्तिका निम्ति संघर्ष गरेका नेताहरूलाई बदनाम गर्न खोजिन्छ, त्यो निरंकूशता र तानाशाह जन्माउने षडयन्त्र हो भनेर बुझ्नुपर्ने हुन्छ।
तानाशाही त्यसरी नै आउने गर्दछ। त्यसकारण हामी सतर्क हुन जरुरी छ। निरंकुशता, तानाशाही, प्रतिगमन विरुद्धको लडाईंमा हामीले एकता प्रदर्शन गरेका छौं।
राजाले पनि एउटा पार्टी खोले हुन्छ : माधवकुमार नेपाल
नेपालको राजनीतिमा कालो बादल मडारिन खोजिरहेको छ। संकेत राम्रो देखिएको छैन। प्रतिगामी तत्वहरूलाई सावधान भन्न चाहन्छु। फेरि शीर उठाउने दुश्साहस नगर्नुस्, अब नदीको प्रवाह अगाडि बढी सकेको छ।
त्यसो हुनाले नेपालमा राजतन्त्रको कुनै संभावना छैन। राम्रो के हुन्छ भने राजनीति गर्ने हो भने राजाले पनि एउटा पार्टी खोले हुन्छ। होइन भने एउटा व्यापार गरे हुन्छ। एउटा वंशको शासन हामीलाई स्वीकार्य छैन।