कोरोनाविरुद्ध लगाइयो २ करोड डोज खोप
एकै दिन ३ लाखभन्दा बढीलाई खोप लगाउँदै कोभिड–१९ विरुद्धको खोप अभियानले २ करोड डोज पार गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार, शुक्रबार देशभर ३ लाख २९ हजार ३२१ जनालाई खोप लगाइएको छ। योसँगै कोभिड-१९ विरुद्ध लगाएको खोपको संख्या दुई करोड डोज नाघेको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबारसम्म २ करोड २ लाख ३४ हजार ८२२ डोज खोप लगाइएको छ। जसमध्ये १ करोड १० लाख ६६ हजार ४६४ जनालाई पहिलो डोज र ९१ लाख ६८ हजार ३५८ जनालाई पूर्ण डोज लगाइएको छ। कूल जनसंख्याको ३६.४ प्रतिशतलाई पहिलो डोज र ३०.२ प्रतिशतलाई पूर्ण खोप पुगेको छ।
खोप लगाउने लक्ष्य राखेकामध्ये ५५.५ प्रतिशतलाई पहिलो डोज र ४६ प्रतिशतलाई पूर्ण खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। सरकारले १८ वर्षभन्दा माथिका १ करोड ९९ लाख २२ हजार १६४ जनालाई खोप लगाउने लक्ष्य राखेको थियो। अहिले १२ वर्षभन्दा माथिका बालबालिकालाई पनि खोप लगाउन थालिएको छ।
शुक्रबार १० हजार ४८७ जनाको स्वाब परीक्षण गर्दा २५९ जनामा कोरोना देखिएको छ। जसमध्ये ६ हजार ४७२ जनाको पीसीआर परीक्षण गर्दा २३२ र ४ हजार १५ जनाको एन्टिजन परीक्षण गर्दा २७ जनामा संक्रमण पुष्टि भएको हो।
त्यस्तै, कोरोनाबाट ३ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५५२ पुगेको छ।
पछिल्लो २४ घण्टामा ३३७ जना निको भएका छन्। अहिलेसम्म निको हुनेको संख्या पनि ८ लाख ६ हजार २३७ पुगेको छ। अझै ५ हजार ९९७ जना सक्रिय संक्रमित छन्।