सर्वोच्च अदालतको विवादमा अरुले हस्तक्षेप गर्नै मिल्दैन : महन्थ ठाकुर
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले सर्वोच्च अदालतमा देखिएको विवादमा कसैले हस्तक्षेप गर्न नमिल्ने बताएका छन्।
नेपाली कांग्रेसको शुक्रबार काठमाडौंमा शुरू भएको १४औं महाधिवेशनमा शुभकामना मन्तव्य राख्दै नेता ठाकुरले सर्वोच्च अदालतमा देखिएको विवाद आफैले समाधान गर्नुपर्ने बताए।
“दुनियाँको विवादको छिनोफानो गर्ने अदालतले आफ्नो विवादको छिनोफानो पनि आफै गर्नेछ, अरुले यसमा हस्तक्षेप गर्नै मिल्दैन” ठाकुरले भने।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता ठाकुरले बेन्च र नेपाल बार एसोसियशनबीचको विवादले गर्दा जनता अदालतबाट पाउनु पर्ने सेवा बन्चित भइरहेको बताए । उनले भने, “हाम्रो विवादको छिनोफानो गर्नुपर्ने अदालत आफ्नै विवादमा फसेको छ, तर समाधान आफैले खोज्नु पर्दछ।”
नेपाल बारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलन गर्दै गरेको छ। जबराले भने आफूलाई संविधानिक रुपमा हटाउन चुनौति दिंदै आएका छन्।