भृकुटीमण्डपमा ड्रोनबाट निगरानी, ५ हजार प्रहरी परिचालन
नेपाली कांग्रेसको आजदेखि शुरू हुने १४औं राष्ट्रिय महाधिवेशनका लागि नेपाल प्रहरीले थप सुरक्षाकर्मी परिचालन गरेको छ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले महाधिवेशनका लागि थप मद्दत सहिको आवश्यक सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए। उनका अनुसार, उपत्यकाका तीनै जिल्लामा प्रहरीले आवश्यकता अनुसार सुरक्षा सतर्कता बढाएको छ। त्यससँगै थप टोली पनि खटाइएको छ।
मुख्य गरी महानगरीय प्रहरी कार्यालयको नेतृत्वमा आज उपत्यकामा सुरक्षा प्रबन्ध गरिएको छ। कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले महाधिवेशनलाई मात्रै केन्द्रित गरेर पाँच हजारभन्दा बढी प्रहरी खटाइएको जानकारी दिए।
कार्यक्रमस्थलाई तीन घेरामा सुरक्षा व्यवस्था मिलाइएको छ। चक्रपथ तथा उपत्यका प्रवेशनाकाका लागि छुट्टै घेरामा प्रहरी परिचालन गरिएको छ। कार्यक्रमस्थलको प्रवेश बिन्दुमा प्रविधिको प्रयोग गरेर परीक्षण तथा आवश्यक सुरक्षा व्यवस्थापन गरिएको राठौरले बताए।
त्यस्तै, ठाउँ ठाउँमा सीसी क्यामेरा जडान गरिएको छ। त्यसको नियन्त्रण तथा अनुगमन महानगरीय प्रहरी कार्यालय र नगर प्रहरीले गर्ने गरी व्यवस्था मिलाइएको छ।
प्रवक्ता राठौरका अनुसार, ड्रोन क्यामेराको समेत प्रयोग गरेर निगरानी हुनेछ। प्रतिनिधि बस्ने सुन्धारा, ठमेल लगायत ठाउँमा समेत चौबीसै घण्टा सुरक्षाकर्मी रहने गरी व्यवस्थापन गरिएको छ।
भीभीआइपी र भीआइपीको रुटमा छुट्टै सुरक्षा प्रबन्ध गरिएको छ। महाधिवेशन सुरक्षाका लागि सादा पोशाकमा पनि प्रहरी परिचालित हुनेछन्। पैदल, मोबाइल गस्ती नियमित रहनेछन्। आवश्यक थप मद्दत टोली समेत व्यवस्थापन गरिएको उनले बताए।
यस्तो छ ट्राफिक व्यवस्थापन
उद्घाटन समारोहका वेला हुन सक्ने सवारी चापलाई मध्यनजर गरी ट्राफिक व्यवस्थापनमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले आवश्यक व्यवस्था मिलाएको छ। महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले रुट व्यवस्थापनका लागि ट्रााफिक मात्रै ३५० बढी परिचालन गरिएको जानकारी दिए। नियमित ड्युटीमा रहने प्रहरी यथावत् रहनेछन्।
उनले उपस्थिति र सवारीको चाप हेरेर आवश्यकता अनुसार सवारी रुटको डाइभर्सन हुने पनि जानकारी दिए। थोरै मानिसको भीड हुने बित्तिकै उपत्यकाको सवारी आवागमनमा चाप पर्ने हुँदा सोही अनुसारको व्यवस्थापन गरिएको छ ।
कार्यक्रमस्थलमा सवारी जाम नहोस् भनेर प्रहरीले पद्मोदय मोड, कमलादी मोड, सभागृह मोड, सिंहदरबार चोक र माइतीघरबाट ट्राफिक डाइभर्सन गरेको छ। त्यस कार्यका लागि १८ ट्राफिक प्रहरी खटाइएका छन्।
टुँडिखेल वरपर अत्यधिक सवारी साधनको चाप भएमा भने त्रिपुरेश्वर चोक, बालाजु चोक, नारायणगोपाल, कलङ्की, बल्खु, जावलाखेल, तीनकुने र गौशाला चोकबाट नै डाइभर्सन गर्ने गरी सुरक्षा योजना बनाइएको छ। त्यस कार्यका लागि २४ ट्राफिक प्रहरी खटाइएका छन्।
महाशाखाका अनुसार, झण्डावाला, पार्टी अध्यक्षहरू र विदेशी पर्यवेक्षकका सवारी साधनका लागि भृकुटीमण्डपको सभाहल पछाडि पार्किङको व्यवस्था मिलाइएको छ। अन्य भीआइपीका सवारी साधन राष्ट्रिय सभागृहमा राखिनेछन्। महाधिवेशन प्रतिनिधिका सवारी साधन खुलामञ्चमा र वैकल्पिक पार्किङका रूपमा विश्वभाषा क्याम्पस लगायत आसपासका खुला क्षेत्र तोकिएको छ।
यसरी सवारी रुट र त्यस क्षेत्र तथा आसपासका लागि महाशाखाले एक प्रहरी उपरीक्षक, दुई प्रहरी नायब उपरीक्षक, तीन प्रहरी निरीक्षक, २५ जुनियर प्रहरी अधिकृत, ६५ प्रहरी हवल्दार र जवान सहित ९५ ट्राफिक प्रहरी खटाएको छ। अन्य सम्भावित क्षेत्र र आवश्यकता हेरी ट्राफिक परिचालन गरिनेछन्।
कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन आज दिउँसो १ बजे भृकुटीमण्डपमा हुँदै छ। (रासस)