कांग्रेस अधिवेशन : विचारभन्दा बाहुबल ठूलाे!
आफ्नो फाइदाका लागि आपराधिक पृष्ठभूमिका व्यक्तिलाई समेत सहजै दलमा प्रवेश गराउने प्रवृत्तिले कांग्रेसको जिल्ला तथा क्षेत्रीय अधिवेशनमा विचारमाथि बल हावी भएको प्रष्टै देखियो।
स्थानीय तथा प्रतिनिधि सभाको निर्वाचनमा फरक–फरक दलका कार्यकर्ताबीच हुने झडप, भिडन्त लगायतका घटना नेपाली समाज र राजनीतिमा नौलो मानिंदैन। २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापनापछि भएका सबैजसो निर्वाचनमा यस्ता खालका झडप र मारपिटका घटना भइरहेकै देखिन्छ। त्यसकारण पनि नेपाली समाज र राजनीतिले फरक-फरक दलबीच हुने झडप र मारपिटका घटनालाई पचाइसकेको छ।
तर, पार्टीकाे आन्तरिक निर्वाचनका क्रममा संसदीय तथा स्थानीय चुनावका घटनालाई नै मातदिने घटना भने नयाँ हुन्। यस्तै देखियो– कांग्रेसको १४औं महाधिवेशन अघि भएका क्षेत्रीय र जिल्ला अधिवेशनहरूमा। फरक–फरक दलबीच पनि विरलै हुने उम्मेदवार अपहरण, गोली हानाहान र झडप कांग्रेस अधिवेशनका दैनिकी जस्तै भए।
कांग्रेसको वडा, जिल्ला र क्षेत्रीय अधिवेशनका क्रममा लुम्विनी र प्रदेश नम्वर २ मा झडप र गोली हानाहानका घटना भए । ७ मंसीरमा प्युठान जिल्ला अधिवेशनको मतगणनाका क्रममा संस्थापन इतरका उम्मेदवार विष्णुकुमार गिरीकाे ५२९ मत पुगेपछि अर्को प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा पक्षका कार्यकर्ताले मतगणनास्थल स्वर्गद्वारी क्याम्पसमा ढुंगा प्रहार गरे। त्यसपछि भएको झडप र प्रदर्शनले उग्ररूप लिएपछि प्रहरीले गोली चलाएर घटनास्थल नियन्त्रणमा लिनुपर्यो। उक्त झडपका क्रममा सात जना कार्यकर्ता घाइते भएका थिए।
यस्तै, ४ मंसीरमा रुपन्देहीको प्रदेश क्षेत्र नं ३ (क)को मतगणना स्थलमा रामचन्द्र पौडेल समूहका कार्यकर्तालाई देउवा समर्थित कार्यकर्ताको समूहले आक्रमण गर्यो। आक्रमणका क्रममा सचिव पदका उम्मेदवार शैलेश पन्त घाइते भए। गृहमन्त्री बालकृष्ण खाँणको आडमा सभापति देउवा समर्थित व्यक्तिहरूले आक्रमण गरेको रामचन्द्र पौडेल पक्षको आरोप छ।
रुपन्देहीकै क्षेत्र नम्बर–२ को क्षेत्रीय अधिवेशनका क्रममा मतगणना भइरहेको समयमा ७ मंसीरमा पौडेल पक्षका कार्यकर्ता कुमार केसी सभापति देउवा पक्षका कार्यकर्ताद्वारा कुटिए।
त्यसैगरी, प्रदेश नम्बर–२ को सर्लाहीमा कांग्रेस अधिवेशनकै क्रममा झडप र गोली हानाहानका घटना भए। १२ मंसीरमा सर्लाहीको बलरा नगरपालिका–९ को वडा अधिवेशनका क्रममा कार्यकर्ताहरूबीच विवाद बढेपछि गोली चल्यो। अधिवेशन स्थलमा प्रदेश नं–२ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंह पुगेपछि विवाद भएको थियो।
सर्लाहीको निर्वाचन क्षेत्र नम्बर–४ मा कांग्रेस नेता अमरेश सिंह र वीरेन्द्र सिंहबीच प्रतिस्पर्धा छ। वडा अधिवेशनका क्रममा विवाद बढ्दै गएपछि मन्त्री सिंहका अंगरक्षकले आत्मसुरक्षाका लागि गोली चलाउनु परेको बताएका छन्।
महोत्तरीमा त निर्वाचन अधिकृत नै अपहरणमा परे। महोत्तरीको क्षेत्र नं ३ का मतदान अधिकृत धीरेन्द्र मण्डलले आफूलाई अपहरण गरेर निर्वाचित प्रमाणपत्रमा जबर्जस्ती हस्ताक्षर गराइएको बताएका छन्। उनले प्रतिनिधिका प्रमाणपत्र रद्द गर्न अनुरोध गर्दै राजीनामा दिइसकेका छन्।
१५ मंसीरमा क्षेत्रीय अधिवेशनको बन्द सत्रमा हो–हल्ला भएपछि बन्दसत्र स्थगित गरिएको थियो। सोही राति घरमा आएका अपरिचित व्यक्तिको समूहले अपहरण शैलीमा आफूखुशी प्रमाणपत्रमा हस्ताक्षर गर्न लगाएको मतदान अधिकृत मण्डलले बताएका छन्। निर्वाचन अधिकृतको अपहरण संसदीय निर्वाचनमा समेत विरलै हुने घटना हो।
किन हुन्छ यस्तो ?
२००७ सालमा राणा शासन अन्त्य गर्न कांग्रेसको महत्पूर्णा भूमिका रह्यो। २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापनाका लागि पनि कांग्रेसले नेतृत्वदायी भूमिका खेल्यो। यी दुई आन्दोलनमा खेलेको भूमिकाकै कारण प्रजातन्त्रकै लागि कांग्रेसको स्थापना भएको नेताहरूको दावी छ।
कांग्रेसले प्रजातान्त्रिक समाजवादलाई मुल आर्दश मान्छ। यसरी आफूलाई सबैभन्दा धेरै प्रजातान्त्रिक दाबी गर्ने पार्टीको आन्तरिक अधिवेशनमा मारपिटका घटना चाहिं किन बढे? राजनीतिशास्त्री प्रा. कृष्ण पोखरेल यसको मुख्य कारण पार्टीभित्र अवसर कम आकांक्षी बढी हुनु ठान्छन्। “पदमा पुग्दा प्राप्त गर्न सकिने अवसरले गर्दा यस्तो भएको हो,” पोखरेल भन्छन्।
आन्तरिक प्रतिस्पर्धाको क्रममा भएका यस्ता अराजनीतिक गतिविधिले कार्यकर्तामा अनुशासन नरहेको संकेत दिने नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल बताउँछन्। “नेतृत्व विभाजित र पार्टीमा अनुशासन भएन भने कार्यकर्ताबीच झडपका घटना घट्छन्, अहिले कांग्रेसमा भएको त्यही हो,” मल्ल भन्छन् “गुण्डागर्दी त सबै पार्टीमा छ। तर, अन्य पार्टीमा एक व्यक्तिमा लिडरसीपले त्यसलाई छोपेको जस्तो देखिन्छ।” कांग्रेसमा चाहिं सुझबुझपूर्ण नेतृत्व नदेखिएको उनको भनाइ छ।
महोत्तरीमा त निर्वाचन अधिकृत नै अपहरणमा परे। महोत्तरीको क्षेत्र नं ३ का मतदान अधिकृत धीरेन्द्र मण्डलले आफूलाई अपहरण गरेर निर्वाचित प्रमाणपत्रमा जबर्जस्ती हस्ताक्षर गराइएको बताएका छन्।
अराजनीतिक गतिविधिका अँध्यारा मात्रै होइन, कांग्रेस अधिवेशनका केही सकारात्मक पाटा पनि छन्। राजनीतिशास्त्री पोखरेलका अनुसार, देशले नै थाहा पाउने र संसदीय निर्वाचनको झल्को दिनेगरी कांग्रेसले हरेक तहको अधिवेशन गरेर ‘मास’ पार्टी भएको पुष्टि गरेको छ। “कांग्रेस अधिवेशन आम चुनावको जस्तो खुला समाजले थाहा पाउने गरी भएकाले युवाहरू अलि बढी आकर्षित भएको देखियो,” उनी भन्छन् “अन्य पार्टीको अधिवेशन सम्बन्धित पार्टीका कार्यकर्तालाई बाहेक अन्यलाई जानकारी नै भएन।” यो कांग्रेसका लागि राम्रो भएको र यसले आगामी निर्वाचनमा उसलाई फाइदा हुने पोखरेलको बुझाइ छ।
फाइदाका लागि जे पनि
राजनीतिक दल विचार र सिद्धान्तलाई आदर्श मानेर सञ्चालन हुन्छन्। जब राजनीतिक दलभित्र विचार र सिद्धान्तको मान्यता हराउँदै जान्छ त्यसपछि उछृङ्खल गतिविधिले स्थान पाउँछन्। आफ्नो फाइदाका लागि जसलाई पनि दलमा सहजै प्रवेश गराउने र आपराधिक पृष्ठभूमिका व्यक्तिलाई समेत संरक्षण गर्ने प्रवृत्तिले पार्टीमा अराजकता मौलाउँदो छ।
यस्तो प्रवृत्ति नेपाली कांग्रेसमा मात्र होइन, नेकपा (एमाले), माओवादी केन्द्र लगायतका दलमा पनि हाबी छ। र, यसको संस्थागत विकासमा सबैभन्दा बढी योगदान गर्ने दल नेकपा (माओवादी केन्द्र) हो।
कानूनद्वारा दण्डित व्यक्तिलाई तत्कालीन नेकपा (माओवादी)ले द्वन्द्वकालमा सहजै पार्टी प्रवेश गराउँथ्यो। माओवादी स्वयं मुलुकको कानूनभन्दा माथि रहेर व्यक्ति हत्या र हिंसाको राजनीतिमा थियो।
शक्ति आर्जन गर्ने नाममा शान्ति प्रक्रियामा आएपछि पनि माओवादीले हरेक पृष्ठभूमिका व्यक्तिलाई पार्टीमा प्रवेश दियो। कानूनद्वारा दण्डितलाई खुलमखुला संरक्षण गर्यो। हत्याको आरोप लागेका र अदालतमा मुद्दा विचाराधिन रहेका कतिपय नेता माओवादीको ‘हाई कमाण्ड’मै छन्।
माओवादीले आपराधिक पृष्ठभूमिका कार्यकर्ताको साथ पाएर ज्यादती गर्न थालेपछि एमालेले उसलाई ठेगान लगाउने नाममा युथफोर्स गठन गर्यो। युथफोर्समा पनि त्यस्तै आपराधिक पृष्ठभूमिका युवा संगठित हुन पुगे।
पार्टीमा आबद्ध युवालाई विचारले प्रशिक्षित गरेर सही दिशामा हिंडाउनुपर्नेमा दलहरूले त्यस्तो गर्न सकेनन्। परिणाम हरेक पार्टीमा विचारभन्दा बाहुबल हाबी हुँदै गयो।
नेपाल प्रहरीका पूर्व प्रहरी उपरीक्षक रविन्द्रनाथ रेग्मी राजनीतिक दलले शक्ति आर्जन गर्ने नाममा जस्ता पनि व्यक्तिलाई पार्टी प्रवेश गराउँदा विचारभन्दा मुडेबल हाबी हुन पुगेको बताउँछन्।
पार्टीमा आबद्ध युवालाई विचारले प्रशिक्षित गरेर सही दिशामा हिंडाउनुपर्नेमा दलहरूले त्यस्तो गर्न सकेनन्। परिणाम हरेक पार्टीमा विचारभन्दा बलबाहुली हाबी हुँदै गयो।
रेग्मीले भनेजस्तै विभिन्न समयमा गम्भीर आपराधिक आरोप लागेका व्यक्ति दलको कार्यकर्ता बन्ने क्रम बढेको छ। जस्तो– काभ्रेका गणेश लामा कांग्रेसमा सक्रिय छन्। दिपक मनाङे एमालेको सहयोगमा मनाङबाट गण्डकी प्रदेश सभामा निर्वाचित भए। उनी पहिले एमाले नेतृत्वको सरकारमा थिए भने अहिले कांग्रेस नेतृत्वको सरकारमा पनि मन्त्री छन्।
पूर्व प्रहरी उपरीक्षक रेग्मी आपराधिक पृष्ठभूमिका व्यक्तिको निश्चित दल नहुने बताउँछन्। “उसलाई आफ्नो अपराधबाट बच्न संरक्षण चाहिन्छ, दलमा लागेपछि संरक्षणसँगै शक्ति पनि बढ्छ,” रेग्मी भन्छन् “आफ्नो पहिचान र जनमत भयो भने बढी सुरक्षित हुने कुरा बुझे र दलमा आबद्ध हुनेहरू बढ्न थाले।” पहिला राजनीतिक दलले आपराधिक पृष्ठभूमिका व्यक्तिलाई प्रयोग गरेको र अहिले उनीहरूले सुरक्षित बन्न दललाई प्रयोग गरेको रेग्मीको बुझाइ छ।