विदेशबाट चार महीनामै आयो ४९ करोडको हरियो तरकारी
चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो चार महीनामा हरियो तरकारीको आयात ३५५.४ प्रतिशतले बढेको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पहिलो चौमासिक समीक्षा सार्वजनिक गर्दै कात्तिकसम्म रु.४९ करोड ७७ लाख बराबरको हरियो तरकारी आयात भएको जनाएको छ। जुन गत वर्षको यही अवधिमा रु.१० करोड ९३ लाखमा सीमित थियो।
परिमाणका हिसाबले भने गत वर्षको भन्दा यो वर्षको पहिलो चार महीनामा ९४.१ प्रतिशतले आयात बढेको छ। कात्तिकसम्म १४ हजार ३४९ मेट्रिक टन हरियो तरकारी आयात भएको छ। गत वर्षको यही अवधिमा यस्तो आयात ७ हजार ३९३ मेट्रिक टन मात्र थियो।
यो वर्ष वर्षायाममा अत्यधिक पानी परेका कारण काउली, बन्दा, सागपात लगायत तरकारी बालीमा क्षति पुगेको थियो, त्यसै कारण आयात बढेको अनुमान गरिएको छ।
साउनदेखि कात्तिकसम्म रु.४ अर्ब २३ करोड बराबरको आलु आयात भएको मन्त्रालयले उल्लेख गरेको छ। जुन गत वर्षको यही अवधिमा रु.३ अर्ब ५५ करोडमा सीमित थियो।
त्यसैगरी, प्याजको आयात पनि उच्च दरमा बढेको छ। कात्तिकसम्म रु.१ अर्ब ९६ करोड मूल्य बराबरको प्याज आयात भएको छ। गत वर्षको यही अवधिका रु.१ अर्ब ३६ करोडको मात्रै प्याज आयात भएको थियो।
परिमाणका हिसाबले गत वर्षको पहिलो चार महीनामा ३५ हजार २८ मेट्रिक टन प्याज आयात भएकोमा यो वर्षको पहिलो चार महीनामा ५३ हजार १०५ मेट्रिक टन प्याज आयात भएको छ। यो ५१.६ प्रतिशतको वृद्धि हो।
कात्तिकसम्म नेपालले रु.२ अर्ब ७२ करोड मूल्यको स्याउ आयात गरेको छ। यो गत वर्षको तुलनामा एक तिहाइले बढी हो। त्यसै गरी, केराको आयात पनि उच्च दरमा बढेको छ। कात्तिकसम्म रु.७१ करोड २४ लाख मूल्य बराबरको केरा आयात हुन पुगेको छ जुन गत वर्षको यही अवधिमा २५ करोड ८९ लाखमा सीमित थियो।
यो वर्ष खाद्यान्नको आयात भने गत वर्षको तुलनामा घटेको छ। कात्तिकसम्म रु.१३ अर्ब २९ करोडको मात्र चामल आयात भएको छ जुन गत वर्षको यही अवधिमा रु.१३ अर्ब ५८ करोड मूल्यको आयात भएको थियो। मकै र गहुँको आयात पनि गत वर्षको तुलनामा क्रमशः ११.८ र ६२.७ प्रतिशत (परिमाणका हिसाबले) घटेको छ।
तथ्याङ्कले खसीबोकाको आयात फेरि बढ्न थालेको देखाएको छ। चालू आर्थिक वर्षको पहिलो चार महीनामा रु.२५ करोड ४३ लाख बराबरको खसीबोका आयात भएको देखाएको छ। यो गत वर्षको यही अवधिमा शून्य थियो।
पशुसेवा विभागका वरिष्ठ पशुविकास अधिकृत डा.चन्द्र ढकालले अघिल्ला वर्षमा क्वारेन्टिन ऐनको कडाइ मार्फत खसीबोका आयात रोकिएको भए पनि यो वर्ष व्यापारीले क्वारेन्टिनको प्रक्रिया पूरा गरेपछि खसीबोका आयात भएको बताए। “आवश्यक कागजात र प्रक्रिया पूरा गरेपछि आयातलाई रोक्न मिल्दैन, त्यसै कारण खसीबोका आयात भएको हो,” उनले भने।
२०७५ फागुन अन्तिमदेखि सरकारले ऐनलाई कार्यान्वयनमा कडाइ गरेपछि क्वारेन्टिनको प्रमाणपत्रको अभावमा भारतबाट सजिलै आयात हुने खसीबोका नेपाल आउन रोकिएका थिए। खसीबोका आयातमा ‘घुमाउरो बन्देजले मासु आयातमा बर्सेनि विदेशिने रु.३ अर्बभन्दा बढी रकम जोगाएको थियो। भन्सार विभागको तथ्याङ्क अनुसार, आर्थिक वर्ष २०७४/७५ मा रु.३ अर्ब ३१ करोडको जिउँदो खसीबोका आयात भएको थियो।
पशुसेवा विभागका वरिष्ठ पशु विकास अधिकृत ढकालले नेपालमा बर्सेनि करीब ५५ लाख खसीबोका आयात हुने गरेकामा औपचारिक बजारमा त्यसको एक चौथाइ मात्रै आउने गरेको बताए। भारतबाट हुने आयातलाई निरुत्साहन गरेपछि गाउँ गाउँमै खपत हुने खसीबोका औपचारिक बजारमा ल्याउन थालिएको उनले बताए। “नेपालभित्रै खसीबोकाको उत्पादन गर्ने र बजारमा ल्याउने सकारात्मक प्रवृत्ति बढेको छ,” ढकालले भने।