बालबालिकालाई ४ पुसबाट विद्यालयमै कोरोनाको खोप
सरकारले ४ देखि १४ पुससम्म १२ देखि १७ वर्षसम्मका बालबालिकालाई विद्यालयमै कोभिड-१९ विरुद्धको मोडर्ना खोप दिने भएको छ।
यसअघि बालबालिकालाई खोप नलगाएका ५७ जिल्लामा मोडर्ना खोप दिने तयारी गरिएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ। काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, सिन्धुली, सुर्खेत र डडेल्धुरामा भने ४ पुसबाट फाइजर खोप दिइने भएको छ।
यसअघि फाइजर खोप लगाइएका १९ जिल्ला बाहेकका सबै जिल्लामा मोडर्ना खोप अभियान सञ्चालन गरिने परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेकलाल कर्णले बताए। यो खोप ५७ वटा जिल्लाका विद्यालयमै दिइने भएको छ। यसका लागि स्थानीय तहले समन्वय गर्ने उनले बताए।
डा. कर्णका अनुसार, मोडर्ना खोप सात महीनासम्म भण्डारण गर्नुपर्दा माइनस १५ देखि २५ डिग्री सेल्सियसमा राख्नुपर्छ। एक महीनासम्म भण्डारण गर्न भने सामान्य मानिने २ देखि ८ डिग्री सेल्सियस तापक्रममा राख्न सकिन्छ। त्यसैले यो खोप गाउँ-गाउँका विद्यालयमा लगेर दिने योजना बनाइएको उनले बताए। “फाइजरभन्दा यो खोप गाउँ-गाउँ लगेर वितरण गर्न प्राविधिक रूपमा सजिलो भएकाले यस्तो निर्णय गरेका हौं,” उनले भने।
आगामी आइतबारसम्म कोभ्याक्स सुविधा र सरकारी खरीद प्रक्रियाबाट गरी ३६ लाख डोज मोडर्ना खोप नेपाल आइपुग्दै छ। त्यसका आधारमा बालबालिकालाई खोप लगाइने उनले बताए।
काठमाडौं, ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, सप्तरी, पर्सा, झापा, धनुषा, चितवन, काभ्रे, कास्की, बाग्लुङ, रुपन्देही, दाङ, बाँके, सुर्खेत, कैलाली र डडेल्धुरामा मोडर्ना खोप नलाइने भएको छ। यी बाहेक सबै जिल्लामा ४ पुसदेखि मोडर्ना खोप अभियान सञ्चालन गरिने डा. कर्णले बताए।