छोरा बोकेर हिमाल चढेकी आमाको कथा देखाउँदै किम्फ प्रारम्भ
छोरा बोकेर हिमाल चढेकी आमाको कथामा बनेको फिल्म देखाउँदै १९औं काठमाडौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किम्फ)को प्रारम्भ भएको छ।
बिहीबार किम्फको प्रारम्भमा अमेरिकी निर्देशक कायल रुडिकको ‘ड्रिम माउन्टेन’ फिल्म प्रदर्शन गरिएको हो। यसमा पर्वतारोहण प्रशिक्षक समेत रहेकी आरोही पासाङल्हामु शेर्पाले छोरा नोर्बु सहित हिमाल चढेको कथा समेटिएको छ।
सोलुखुम्बुको लुक्लामा जन्मिएकी उनलाई सगरमाथा आरोही पासाङल्हामु शेर्पासँग जोडेर सबैले ‘हिमाल नै चढ्छे होला’ भन्दै जिस्क्याउने गर्थे। बाल्यकालको त्यो प्रसङ्ग सुनाउँदै उनले भनिन्, “यही कुराले पनि बच्चाबाटै हिमाल चढ्ने सपना बनाएँ। किशोर अवस्थामा आमा गुमाएँ। अनेक समस्यासँग जुधे पनि आफ्नो सपनालाई मर्न दिइनँ।”
उनले आफ्नो यात्राबाट अरूलाई पनि प्रेरणा मिल्ने विश्वास गरेको सुनाइन्। फिल्ममा पनि शेर्पाले भनेकी छन्, “म आमा हुँ, तर अझै पनि मेरो सपनासँगै बाँचेकी छु।”
यो फिल्मसँगै प्रारम्भ भएको किम्फका पाँच दिनमा ‘जलवायु कर्म’ मा आधारित रहेर २८ देशका ६० फिल्म प्रदर्शन गरिने भएका छन्। जसमा हिमाली जीवनका जटिलता तथा विविधतालाई देखाइनेछ।
चलचित्र विकास बोर्डको हलमा आयोजित उद्घाटन समारोहमा बोल्दै भारतीय वातावरण अभियन्ता एवं शिक्षा सुधारक सोनम वाङ्गचुकले जलवायुका विषयलाई किम्फले आधार बनाएकोमा प्रशंसा गरे। “हाम्रो एकल प्रयासमा संसार परिवर्तन हुँदैन,” वाङ्गचुकले भने, “जलवायु परिवर्तनको डर हिमाली देशहरूमा छ। त्यसैले मानिसको जीवन जिउने शैलीमा फरकपन ल्याए मात्र परिवर्तन ल्याउन सकिन्छ।”
उद्घाटन समारोहमा विद्वत् प्रवचन दिंदै वाङ्गचुकले जलवायु परिवर्तनको चुनौतीबाट बच्न शिक्षा, संस्कृति, व्यवहार र फिल्म बनाउने विषयहरू पनि पुनर्व्याख्या हुन आवश्यक रहेको बताए। उनले ‘आई लिभ सिम्पली’ को अवधारणाले वातावरणमैत्री जीवन बाँच्न सिकाउने र जलवायुको मुद्दा उठाउन सजिलो हुने बताए। यस्ता विषय चलचित्र महोत्सवको आधार बनाउन सकिए सर्वसाधारणलाई जलवायु परिवर्तनको असर बुझाउन सकिने वाङ्गचुकको भनाइ थियो।
जलवायु परिवर्तन संसारको समस्या भएकाले यस पटकको किम्फमा यस विषयलाई उठान गरिएको किम्फका अध्यक्ष वसन्त थापाले बताए। अनलाइन प्रदर्शन पनि गरिने भएकाले संसारभर जलवायुको विषय पुर्याउन सकिने उनको विश्वास थियो।
चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले पनि जलवायु परिवर्तनले हिमाली क्षेत्रमा परेको असरका विषयलाई किम्फ मार्फत संसारलाई देखाउन सकिने बताए।
महोत्सव निर्देशक रम्यता लिम्बूले समसामयिक विषयबारे सचते गराउन खोजिएको बताइन्। किम्फमा प्रदर्शन हुने फिल्मले सचेतना जगाउनुका साथै मनोरञ्जन पनि प्रदान गर्ने उनको भनाइ छ।
किम्फ अनलाइन हेर्न यहाँ क्लिक गर्नुहोस्।