यस्ता छन् कांग्रेस केन्द्रीय कार्यसमितिको अन्तिम बैठकका निर्णय
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको अन्तिम बैठकले विभिन्न निर्णय गरेको छ।
१४औं महाधिवेशनको अघिल्लो दिन बिहीबार केन्द्रीय कार्यालय, सानेपामा केन्द्रीय कार्यसमितिको अन्तिम बैठक बसेको हो। सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकले चार वटा प्रस्ताव पारित गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए।
बैठकमा कांग्रेस महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्काले तयार पारेको महामन्त्रीको प्रतिवेदन पेश गरिएको थियो। त्यसलाई सर्वसम्मत रूपमा पारित गरेको प्रवक्ता शर्माले जानकारी दिए।
त्यस्तै, कोषाध्यक्ष सीतादेवी यादवको लेखा सम्बन्धी प्रतिवेदन बैठकले सर्वसम्मत रूपमा पारित गरेको छ। यससँगै नीति, अनुसन्धान, प्रशिक्षण प्रतिष्ठानका संयोजक विमिलेन्द्र निधिले पेश गरेको प्रतिवेदन पनि बैठकले पारित गरेको छ।
यसका अतिरिक्त कांग्रेसले विधान परिमार्जन गरेको थियो। त्यस सम्बन्धी संशोधन प्रस्ताव पनि बैठकले पारित गरेको छ। चारै वटै प्रस्ताव महाधिवेशनको बन्द सत्रमा पेश हुने प्रवक्ता शर्माले बताए।
कांग्रेस केन्द्रीय कार्यसमितिको अन्तिम बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल भने उपस्थित भएन। उनी उपस्थित नहुँदा पदाधिकारी थप्ने सम्बन्धी विषयमा भने छलफल नभएको शर्माले जानकारी दिए।
कांग्रेसको महाधिवेशन २४ मंसीरमा काठमाडौंको भृकुटीमण्डपमा शुरू हुँदै छ। यसको तयारीका विषयमा पनि अन्तिम बैठकमा छलफल भएको थियो।