४७ वटा ढुवानीका सवारी साधन सहकारीलाई हस्तान्तरण
हेफर इन्टरनेशनल नेपालले ४७ वटा कृषि सामग्री ढुवानीका सवारी साधन सहकारीलाई हस्तान्तरण गरेको छ।
बजारीकरणको समस्या समाधानका लागि कृषि सहकारी तथा हेफर इन्टरनेशनलको आर्थिक साझेदारीमा ढुवानीका साधन हस्तान्तरण गरिएको हो।
सवारी साधनको ५० प्रतिशत मूल्य सहकारीले र बाँकी हेफरले लगानी गरेको छ।
हेफर इन्टरनेशनल नेपाल साना किसानहरूको दिगो विकासमा भूमिका खेल्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो। हेफर नेपालले एक सयभन्दा बढी गैरसरकारी संस्थासँगको साझेदारीमा ४३ जिल्लाका तीन लाखभन्दा बढी गरीब तथा विपन्न परिवारलाई सहयोग पुर्याएको छ।
हेफरले २०१८–२०२१ मा ‘स्ट्रेन्देनिङ स्मल होल्डर्स इन लाइभस्टक भ्यालू चेन’ अन्तर्गत मूल्य शृङ्खलामा आधारित बजार प्रणाली विकास तथा प्रवर्द्धन गर्ने कार्यक्रम सञ्चालन गरिरहेको छ।
यस कार्यक्रमले १६० केन्द्र तथा ५२३ शाखा सङ्कलन केन्द्र स्थापना गरी दूध, तरकारी तथा खसीबोकाको बजारीकरण गर्दै आएको छ।
कार्यक्रममा स्थानीय सरकार तथा प्रदेश सरकारबाट पनि आर्थिक स्रोत परिचालन भएको छ।
कार्यक्रम अन्तर्गत हेफर इन्टरनेशनल नेपालले पहिलो चरणमा २८ वटा र हाल ४७ वटा गरी देशभरका ७५ वटा कृषि सहकारीलाई कृषि ढुवानीको साधन प्रदान गरेको छ।
यस मार्फत ४७ सहकारीमा आबद्ध करीब ४५ हजार किसान लाभान्वित भएको हेफरले जनाएको छ। यसबाट वार्षिक ८२ करोड बराबरको कृषि उपजको बजारीकरण गर्ने लक्ष्य राखिएको छ।