जनकपुरधाममा विवाह पञ्चमी महोत्सव (तस्वीरहरू)
त्रेता युगमा भएको भगवान् राम–सीता विवाहको सम्झनामा मनाइने विवाह पञ्चमी महोत्सव अन्तर्गत स्वयंवर विधि सम्पन्न भएको छ।
विवाह पञ्चमीको मुख्य दिन बुधबार जनकपुरधामको रङ्गभूमि मैदान (बाह्रबिघा)मा स्वयंवर कार्यक्रम सम्पन्न भएको हाे।
सीताको प्रतिनिधित्व गर्दै जानकी मन्दिर र भगवान् रामको प्रतिनिधित्व गर्दै राम मन्दिरबाट निस्केको भगवान् राम–सीताको डोल नगर परिक्रमा गर्दै रङ्गभूमि मैदानमा पुगेको थियो।
त्यसपछि भगवान्को डोला सहित निस्केको शोभायात्रा जानकी मन्दिरमा पुगेर सम्पन्न भएको थियो।
रङ्गभूमि मैदानमा वर र वधू पक्षबीच हुने गरेको हाँसोठट्टा तथा गाउँ गाउँबाट आउने गरेका सीता–रामको प्रतीकात्मक झाँकी र भक्तजनको उत्साहले वास्तविक विवाहको झल्को दिन्छ।
गोस्वामी तुलसी दासले रामायणमा वर्णन गरे अनुसार, जनक नन्दिनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलाबासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन्।
त्रेता युगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखेको शिव धनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारेपछि मंसीर शुक्ल पञ्चमीका दिन राम–सीताको विवाह भएको मान्यता छ।
महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृति अनुसार, मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ।
विवाह उत्सवमा सहभागी हुन भारतबाट समेत भक्तजन जनकपुरधाम आउने गर्छन्।