अमरेश सिंह भन्छन्– मलाई हराउन पार्टीको नेतृत्व नै लाग्यो
नेपाली कांग्रेसका नेता एवं सर्लाही क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंह क्षेत्रीय अधिवेशनमा पराजित भएका छन्।
पार्टीभित्रको गुटबन्दीका कारण सिंह पराजित भएका हुन्। सिंह शेखर कोइराला निकटका नेता हुन्।उनलाई हराउन शेरबहादुर देउवा र विमलेन्द्र निधि पक्ष एक भएर लागेको नेताहरू बताउँछन्।
महाधिवेशन प्रतिनिधिका लागि २१ मंसीरमा भएको मतदानमा प्रदेश–२ का महिला बालबालिका मन्त्री वीरेन्द्रप्रसाद सिंह ५१६ मत पाएर महाधिवेशन प्रतिनिधि बनेका छन्। सिंहले भने २४८ मत ल्याएका छन्। सिंह विरुद्ध सोही क्षेत्रका दुई जना प्रदेश सभा सदस्य उपेन्द्र कुशवाहा र वीरेन्द्र सिंह एक भएका थिए।
सिंह विरुद्ध बनेको गठबन्धन क्षेत्रीय सभापतिदेखि महाधिवेशन प्रतिनिधिसम्म एकलौटी विजयी भएको छ। सिंहले पार्टीको केन्द्रीय नेतृत्व र सरकार समेत आफूलाई हराउन लागेको आरोप लगाएका छन्।
सिंहको पकड रहेको तीन वटा वडामा अधिवेशन समेत हुन नदिइएपछि उनी हार्ने आकलन पहिले नै गरिएको थियो। सर्लाहीमा विवाद बढेर वडा अधिवेशन समेत हुन सकेको छैन। तीन जना निर्वाचन अधिकृतले चुनाव गराउने नसक्ने भन्दै राजीनामा दिइसकेका छन्।
अहिले अरुण ज्ञवालीलाई चौथो निर्वाचन अधिकृतका रूपमा खटाइएको छ। असुरक्षाका कारण उनी प्रमुख जिल्ला अधिकारीको निवासमा बस्दै आएका छन्।