धितोपत्र बोर्डको अध्यक्षबाट बर्खास्त गरिएका ढुंगानाको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डको अध्यक्षबाट बर्खास्त गरिएका भीष्मराज ढुंगानाको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ।
मंगलबार सर्वोच्चका न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको हो। तर, सर्वोच्चले ढुंगानाको माग बमोजिम अन्तरिम आदेश दिन भने मानेन।
आफू विरुद्धको कारबाही खारेज गरी धितोपत्र बोर्डमा पुनर्बहालीका लागि अन्तरिम आदेश माग गर्दै ढुंगानाले ७ कात्तिकमा सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। सरकारले आफूलाई कानुन विपरीत पदबाट हटाएको उनको जिकिर थियो।
सर्वसाधारणलाई शेयर निष्कासनको तयारी गरेको सर्वोत्तम सिमेन्टको शेयर पारिवारिक सदस्यको नाममा किनेको भेटिएपछि १९ असोजमा मन्त्रिपरिषद्को बैठकले ढुंगानालाई पदीय आचरण अनुकूल काम नगरेको भनी पदमुक्त गरेको थियो।
यसअघि जाँचबुझ समितिले ढुंगानाले धितोपत्रको भित्री कारोबार तथा धितोपत्र व्यवसाय गरी हानि-नोक्सानी तथा पदीय आचरण विपरLत काम गरेकाले उनलाई पदमुक्त गर्न सरकारलाई सुझाव दिएको थियो।