उदीयमान युवा खेलाडीकाे यू–१९ लक्ष्य
१६ वर्ष मुनिको राष्ट्रिय टोलीका खेलाडीहरू आफ्नो क्षमता थप तिखार्दै अवसरको पर्खाइमा छन् ।
सन् २०१४ को एसीसी यू–१६ क्रिकेट प्रतियोगिताको उपाधि जित्दा नेपाली टोलीका सदस्य अनिल खरेलको निकै चर्चा भयो । त्यसबेला केवल १३ वर्ष पुगेका उनले प्रतियोगितामा कुल १३ विकेट लिएर टोलीलाई जिताउन अहम् भूमिका खेलेका थिए । ओमान विरुद्ध ह्याट्रिक सहित ६ विकेट लिएका यी बायाँ हाते स्पिनर ‘उत्कृष्ट उदीयमान खेलाडी’ बने । तर, भविष्यका स्टारका रुपमा हेरिएका उनी विस्तारै हराउन पुगे ।
त्यसपछि फ्रेञ्चाइज लिगमा देखिने गरे पनि अनिलले सोचेजस्तो प्रगति गर्न नसकेकोमा प्रशिक्षकहरू दुःख मान्छन् । यू–१६ टोलीका प्रशिक्षक वसन्त शाही उपाधि जितेर आएका खेलाडीहरूलाई बेवास्ता गर्दा र उनीहरूको प्रतिभा जोगाउने कुनै योजना नबनाइँदा अनिल जस्ता प्रतिभाहरू हराउने गरेको बताउँछन् ।
यस पटक गत अप्रिल अन्तिम साता नेपालको युवा क्रिकेट टोली १६ वर्ष मुनिको एशिया पूर्वी क्षेत्रीय प्रतियोगिताको उपाधि जितेर थाइल्याण्डबाट फर्किंदा प्रशिक्षक शाहीलाई पहिले झैं डर छ– विगतमा झैं युवा राष्ट्रिय टोलीका खेलाडीहरू हराएर त जाँदैनन् !
नेपाल क्रिकेट संघ (क्यान) अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट निलम्बनमा परेका कारण पछिल्लो समय खेलाडी स्याहार्ने निकाय छैन । आन्तरिक विवाद र सरकारी हस्तक्षेप भएको भन्दै आईसीसीले क्यानलाई २०७३ वैशाखमा निलम्बन गरेको थियो ।
यो स्थितिमा युवा खेलाडीहरूले कलेज स्तरीय वा प्रधानमन्त्री कप (१० जेठबाट शुरु) जस्ता फाट्टफुट्ट प्रतियोगिता पर्खेर बस्नुको विकल्प छैन । तर केही खेलाडीले यू–१९ हुँदै राष्ट्रिय टोलीमा प्रवेश गर्ने योजना बुनिसकेका छन् । केही खेलाडीले अभिभावकबाट आडभरोसा पाएका छन् भने कतिले आफ्नो सपना पूरा गर्न सक्दो मिहिनेत गर्ने संकल्प गरेका छन् । यहाँ तिनै खेलाडीबारे चर्चा गरिंदैछ ।
विशालविक्रम केसी
थाइल्याण्डमा यस वर्ष नेपाललाई १६ वर्षमुनिको एशिया पूर्वी क्षेत्रीय क्रिकेटको उपाधि दिलाउने कप्तान हुन्, विशालविक्रम केसी । बर्दियाका उनी ब्याटिङ अलराउन्डर हुन् ।
खेलमा बुबाको दह्रो साथ पाएका उनले निरन्तर प्रशिक्षणको सुविधा पाएका छन् ।
उनका बुबा झलक केसीले छोराको लागि भारतको नयाँदिल्लीमा प्रशिक्षणको व्यवस्था मिलाइदिएका छन् ।
विशालले यसअघि पनि तीन वर्ष नयाँदिल्लीको बाल भवन अन्तर्राष्ट्रिय स्कूलमा पढ्ने क्रममा त्यहीं क्रिकेट प्रशिक्षण लिएका थिए ।
उक्त विद्यालय भारतको व्यावसायिक क्रिकेट लिग आईपीएल खेल्ने टोली दिल्ली क्यापिटल्सको एकेडेमी पनि हो ।
विशाल भन्छन्, “मेरो लक्ष्य प्राप्तिमा बुबाले ठूलो साथ दिनुभएको छ । सपना पूरा गर्न मिहिनेत गर्नेछु ।”
विशाल पटेल
एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेटको फाइनलमा सर्लाही, मलंगवाका विशाल पटेलले चार विकेट लिएका थिए । यी बायाँ हाते बलर २०१६ को संस्करणमा नेपालले उपाधि जित्दा नायक बनेका थिए ।
यसपालिको टोलीमा उनी सहित जम्मा चार जना पुराना खेलाडीको मात्र पुनरागमन भएको थियो । सन् २०१६ र २०१९ मा लगातार टीमलाई जिताउन मुख्य भूमिका खेलेपछि विशाललाई मामा राजुकुमार राउतले थप प्रशिक्षणका लागि काठमाडौं बोलाएका छन् ।
भाञ्जाको प्रतिभा हराउने डर भएपछि राउतले प्रशिक्षणको लागि सम्पूर्ण खर्च व्यहोर्न लागेका हुन् । विशाल भन्छन्, “सर्लाहीमा सीमित साधन–स्रोतबीच अभ्यास गरिरहेको थिएँ । अहिले मामाले काठमाडौंमा आऊ, पढ र खेल भन्नुभएको छ । अब यू–१९ को टोलीमा स्थान पाउने लक्ष्यका साथ सिक्नेछु ।”
विशालले क्रिकेट खेल्ने क्रममा अवरुद्ध भएको औपचारिक अध्ययन अघि बढाउँदै क्रिकेट एकेडेमीमा सिक्नेछन् । उनी भन्छन्, “यू–१९ मा पुग्न धेरै मिहिनेत गर्नुपर्छ । एकेडेमीको प्रशिक्षणले राम्रो गर्ने विश्वास छ ।”
निखिलकुमार सिंह
बारा, पिपराडी निवासी निखिलकुमार सिंहको सपना पनि यू–१९ टोलीमा छनोट भएर राष्ट्रिय टोलीमा पुग्ने हो ।
अफ स्पिनर निखिल पनि दुई वटा यू–१६ जित्ने टोलीका एक सदस्य हुन् ।
बाराको कलैया क्रिकेट क्लबबाट क्रिकेट सिकेका उनी त्यही क्लबमै मिहिनेत गरेर अगाडि बढ्न दृढ छन् ।
निखिल भन्छन्, “त्यो एकेडेमी पनि हो र क्लब पनि । त्यहाँ पवन सर्राफ जस्ता सिनियर दाजुहरूले सिकाउनुहुन्छ । मसँग विकल्प पनि नभएकाले त्यहीं सिक्ने हो ।”
युवा राष्ट्रिय टोलीका अधिकांश खेलाडीको अवस्था निखिलकै जस्तो छ, जससँग आर्थिक समस्याका कारण राम्रो प्रशिक्षण लिने अवसर छैन ।
सुभाष ऐर
धनगढी श्रीनगरका सुभाष ऐर धेरैले संभावना देखेका युवा खेलाडी हुन् । उनको प्रतिभा देखेर राष्ट्रिय कप्तान पारस खड्काले धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा आफ्नो टोली विराटनगर किंग्समा स्थान दिएका थिए । विराटनगर किंग्सबाट उनले दुई सिजन खेलिसकेका छन् ।
धनगढी क्रिकेट एकेडेमीका उत्पादन सुभाष ब्याट्सम्यान हुन् । बाँकी प्रशिक्षण पनि धनगढी एकेडेमीमै गर्ने योजना बनाएका उनी पूर्व राष्ट्रिय टोलीका खेलाडी दीपेन्द्र चौधरीसँग प्रशिक्षण लिइरहेका छन् ।
त्यसअघि प्रशिक्षक अर्जुन खड्काले उनको प्रतिभा तिखारेका थिए । “राष्ट्रिय टोलीको जर्सी लगाउन कति गाह्रो छ भनेर मलाई थाहा छ” उनी भन्छन्, “त्यसको लागि धेरै कुरा त्याग्नुपर्छ, डबल मिहिनेत आवश्यक पर्छ । सबै कुरा बुझेर म अघि बढेको छु ।”