परीक्षण बढेसँगै कोरोना सङ्क्रमितको सङ्ख्यामा पनि वृद्धि
कोभिड-१९ को परीक्षण बढेसँगै आज नयाँ थपिएका सङ्क्रमितको सङ्ख्या पनि केही बढेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, आज ११ हजार ८१० जनाको स्वाब परीक्षण गर्दा ३१५ जनामा सङ्क्रमण देखिएको छ। सोमबार आठ हजार ६१७ जनाको स्वाब परीक्षण गर्दा २६५ जनामा कोरोना देखिएको थियो।
आज नौ हजार ३८६ जनाको पीसीआर परीक्षण गर्दा २७२ जनामा कोरोना देखिएको हो। त्यस्तै, दुई हजार ४२४ जनाको एन्टिजेन परीक्षण गर्दा ४३ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
कोभिड-१९ सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५४५ पुगेको छ।
पछिल्लो २४ घण्टामा ३०४ जना निको भएका छन्। योसँगै निको हुनेको सङ्ख्या पनि आठ लाख पाँच हजार ५२५ पुगेको छ। अझै ६ हजार ३५२ जना सक्रिय सङ्क्रमित छन्।
आज देशभर १ लाख २७ हजार ७५३ जनालाई कोरोना विरुद्धको खोप लगाइएको छ। योसँगै पहिलो डोज लगाउनेको सङ्ख्या १ करोड ५ लाख ४ हजार ७६४ पुगेको छ। त्यस्तै, ८७ लाख ८० हजार ४३३ जनाले पूर्ण खोप लगाइसकेका छन्।