डा. महतो कृषि विश्वविद्यालयको उपकुलपति नियुक्त
डा. वैद्यनाथ महतो प्रदेश २ सरकारले स्थापना गरेको कृषि विश्वविद्यालयको उपकुलपति नियुक्त भएका छन्।
विश्वविद्यालयका उपकुलपति एवं मुख्यमन्त्री लालबाबु राउतले मंगलबार सिराहाको मिर्चैया नगरपालिका-२ का महतोलाई उपकुलपति नियुक्त गरेका हुन्। उपकुलपति नियुक्त भएको महतो यसअघि प्रदेश नीति आयोगका सदस्य थिए। उनले सोमबार मात्रै नीति आयोगको सदस्यबाट राजीनामा दिएका थिए।
प्रदेश सरकारले सप्तरीको राजविराजमा विश्वविद्यालय स्थापना गर्न लागेको छ। त्यसका लागि प्रदेशको मन्त्रिपरिषद्को सिफारिशमा प्रदेश प्रमुख हरिशंकर मिश्रले २३ कात्तिकमा प्रदेश प्राविधिक विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र प्रदेश कृषि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेका थिए।
विश्वविद्यालयका थप काम अघि बढाउन उपकुलपति नियुक्त गरिएको प्रदेश सरकारले जनाएको छ। अहिलेसम्म विश्वविद्यालयको कार्यालय र कर्मचारीको व्यवस्थापन भएको छैन। केही दिनमै विश्वविद्यालयको कार्यालय उद्घाटन गर्ने तयारी रहेको सामाजिक विकासमन्त्री नवलकिशोर साहको सचिवालयले जनाएको छ।
विश्वविद्यालयको उपकुलपति नियुक्त गरिए पनि भौतिक संरचना निर्माण गरिएको छैन। सरकारका प्रवक्ता शैलेन्द्रप्रसाद साहले राजविराजको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमै कृषि विश्वविद्यालय सञ्चालन गर्ने तयारी रहेको बताए।
यो क्याम्पस त्रिभुवन विश्वविद्यालय मातहत रहेको छ। “त्रिविले दियो भने त्यहीं विश्वविद्यालय सञ्चालन हुन्छ, त्रिविले दिएन भने अन्य ठाउँमा संरचना निर्माण गर्छौं,” मन्त्री साहले भने।
प्रदेशमा व्यावसायिक कृषिको विकास गर्न विश्वविद्यालय स्थापना गरिएको उनको भनाइ छ। “कृषि प्राविधिकको पढाइसँगै अनुसन्धानका लागि कृषि विश्वविद्यालय फलदायी हुनेछ,” मन्त्री साहले भने।
कृषि विश्वविद्यालय सञ्चालनका लागि अर्थ मन्त्रालयसँग २५ करोड रुपैयाँ माग गरिएको उनले बताए। रकम निकासा हुने प्रक्रियामा रहेको र छिटै काम अघि बढ्ने उनको भनाइ छ।