१२ वर्षमाथिका बालबालिकालाई एक साताभित्रै मोडर्ना खोप दिइने
सरकारले १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोभिड-१९ विरुद्धको मोडर्ना खोप दिने निर्णय गरेको छ।
आइतबार बसेको खोप सल्लाहकार समितिको बैठकले १२ देखि १७ वर्षसम्मका बालबालिकालाई मोडर्ना खोप दिने निर्णय गरेको परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखा प्रमुख सागर दाहालले बताए। उनका अनुसार, अबको एक साताभित्रै लगाउने गरी तयारी भइरहेको छ।
कोभ्याक्स सुविधा अन्तर्गत १७ मंसीरमा अमेरिकी कम्पनी मोडर्नाको एक लाख ८८ हजार डोज खोप आएको थियो।
उनका अनुसार, मोडर्ना खोप सात महीनासम्म भण्डारण गर्नुपर्दा माइनस १५ देखि २५ डिग्री सेल्सियसमा राख्नुपर्छ। एक महीनासम्म भण्डारण गर्न भने सामान्य मानिने २ देखि ८ डिग्री तापक्रममा राख्न सकिन्छ। त्यसैले यो खोप गाउँ-गाउँका विद्यालयमा लगेर दिने योजना अन्तर्गत तयारी भइरहेको उनले बताए। “अहिले कुन कुन स्थानमा लैजाने भन्ने विषयमा निर्णय भइसकेको छैन,” दाहालले हिमालखबरसँग भने।
उनका अनुसार, अबको केही दिनमै थप ६ लाख डोज फाइजर खोप पनि आउँदै छ। यसअघि प्रयोग गरिसकेको फाइजर खोप १२ देखि १७ वर्षसम्मका बालबालिकालाई नै दिइएको थियो।
यसअघि १८ वर्ष माथिका व्यक्तिलाई दिइंदै आएको मोडर्ना खोप १९ नोभेम्बरमा विश्व स्वास्थ्य सङ्गठनले १२ वर्ष माथिकालाई दिन सकिने भनी अनुमति दिएको थियो। विश्व स्वास्थ्य सङ्गठनको अनुमतिपछि नेपालको खोप सल्लाहकार समितिले बालबालिकालाई दिन सिफारिश गरेको हो।