संसदीय समितिद्वारा प्रस्तावित राजदूतको नाम अनुमोदन
संघीय संसद्को संसदीय सुनुवाइ समितिले भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ।
सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित तीनै जना राजदूतको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए। समितिले भारतका लागि प्रस्तावित शङ्कर शर्मा, बेलायतका लागि प्रस्तावित ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि प्रस्तावित श्रीधर खत्रीबाट आ-आफ्नो अनुभव, योग्यता र अवधारणा सम्बन्धी जानकारी लिएको थियो।
११ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले बेलायतका लागि आचार्य, भारतका लागि शर्मा र अमेरिकाका लागि खत्रीलाई राजदूतमा सिफारिश गरेको थियो। उनीहरूका विषयमा सुनुवाइ गर्न संघीय संसद्को संसदीय सुनुवाइ समितिलाई पत्राचार गरेको थियो।
संसदीय सुनुवाइ समितिले १० दिन समय दिएर तीनै जना विरुद्ध उजुरी आह्वान गरेको थियो। यसमा एउटा मात्रै उजुरी परेको थियो। जुन समावेशिता सम्बन्धी थियो।
व्यक्तिगतभन्दा पनि सैद्धान्तिक विषयमा उजुरी परेकाले उनीहरूसँग सामान्य छलफल गरिएको थियो।