जनकपुरधाममा सम्धी मिलन (तस्वीरहरू)
राम-सीताको विवाहको सम्झनामा जनकपुरमा मनाइने विवाह पञ्चमी महोत्सव अन्तर्गत चौथो दिन सम्धी मिलन अर्थात् तिलकोत्सव मनाइएको छ।
सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव अन्तर्गत सोमबार राम मन्दिरको प्राङ्गणमा तिलकोत्सव मनाइएको हो। जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास सहित साधुसन्तको अगुवाइमा बाजागाजा सहित निस्केको झाँकीले नगर परिक्रमा गरेको थियो।
जानकी मन्दिरबाट ‘भार’ लिएर महन्थ रामरोशन नजिकैको राम मन्दिर पुगेका थिए। राम मन्दिरको प्राङ्गणमा आयोजना गरिएको गीत-सङ्गीतको कार्यक्रमले जनकपुरको माहोल नै तिलकोत्सवमय बनाएको थियो।
यो कार्यक्रममा जानकी मन्दिरका उत्तराधिकारी महन्थ दास र अयोध्या दरबारको प्रतिनिधित्व गर्ने जनकपुरधामस्थित राम मन्दिरका महन्थ राम गिरीले अङ्कमाल गरेका थिए। यसलाई मिथिला क्षेत्रमा ‘सम्धी मिलन’ भनिन्छ।