३२ अङ्कले बढ्यो नेप्से, परिसूचक २५४६ बिन्दुमा
सोमबार शेयर बजार परिसूचक (नेप्से) ३२.२२ अङ्कले बढेको छ।
२५०८.९६ बिन्दुबाट शुरू भएको बजार परिसूचक २५४६.०९ बिन्दुमा पुगेर रोकिएको हो।
आइतबार परिसूचक २५१३.८७ बिन्दुमा ओर्लिएको थियो। आज परिसूचकको वृद्धि दोहोरो अङ्कको भए पनि कारोबार रकममा भने उल्लेख्य वृद्धि देखिएन।
सोमबार २२७ कम्पनीको ९४ लाख ७१ हजार कित्ता शेयर खरीदबिक्री हुँदा ४ अर्ब ५४ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
पछिल्ला दिनमा शेयर बजार लगातार ओरालो लाग्दै आएको थियो। ब्यांकमा लगानीयोग्य पूँजीको अभाव, शेयर कर्जामा राष्ट्र ब्यांकको कडा नीति लगायत कारणले बजार ओरालो लाग्दै आएको जानकारहरूले बताउँदै आएका छन्।
सोमबार चाहिं सबै उपसूचकमा सामान्य सुधार देखिएको छ। आज ब्यांकिङ समूहको उपसूचक १३, विकास ब्यांक १५७.१३, फाइनान्स, ५७.८७, होटल तथा पर्यटन ४१.८० अङ्कले बढेको छ। त्यस्तै, जलविद्युत् ८२.५३, जीवन बीमा १२३.२०, लघुवित्त ६५.४१ र निर्जीवन बीमाको उपसूचक २६.०९ अङ्कले बढेको छ।
सोमबार मेरो लघुवित्त वित्तीय संस्था र एक्सेल विकास ब्यांकको शेयरमा सकारात्मक सर्किट लाग्यो। साहस ऊर्जाको शेयर मूल्य ८.१७, माहुली सामुदायिक लघुवित्त ७.६९ र बोटलर्स नेपालको शेयर मूल्य ७.३७ प्रतिशतले बढ्यो।