कांग्रेस प्रदेश २ को अधिवेशन अनिश्चितकालका लागि स्थगित
नेपाली कांग्रेस प्रदेश २ को अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ।
केही जिल्लामा प्रतिनिधि छनोटमा विवाद भएपछि प्रदेश अधिवेशन स्थगित गरिएको कांग्रेस प्रदेश २ का संयोजक रमेश रिजालले बताए। “केही जिल्लामा विवाद भएको छ, विवादकै बीच अधिवेशन गराउनु उपयुक्त हुँदैन,” रिजालले हिमालखबरसँग भने, “त्यसैले तत्कालका लागि अधिवेशन स्थगन गरिएको छ।”
प्रदेश १ को सर्लाही र महोत्तरीमा अधिवेशन हुन सकेको छैन। प्रदेश प्रतिनिधि छनोटमा विवाद उत्पन्न भएको छ। त्यस्तै, रौतहटको पनि निर्वाचन क्षेत्र नं. ४ मा विवाद छ।
अहिले विवाद मिल्न नसकेपछि अधिवेशन स्थगित गर्नुपरेको उनको भनाइ छ। “यस्तो प्रतिकूल अवस्थामा अधिवेशन गर्न सकिंदैन,” रिजालले भने। महाधिवेशन सकिएपछि मात्रै प्रदेश २ मा प्रदेश अधिवेशन हुने उनको भनाइ छ।
कांग्रेसले १४औं महाधिवेशन अन्तर्गत सातै प्रदेशमा १६ मंसीरमा अधिवेशन उद्घाटन गर्ने तय गरेको थियो। अन्य ६ प्रदेशमा निर्वाचन भएर नयाँ नेतृत्व चयन भइसकेको छ। प्रदेश २ मा भने विवाद मिलाउन अधिवेशन सारिंदै आएको थियो। तर, विवाद नुसुल्झिएपछि अनिश्चितकालका लागि स्थगन गरिएको हो।
केही ठाउँमा अधिवेशनका क्रममा झडप पनि भएको थियो। झडपका क्रममा गोली समेत चलेको थियो। महोत्तरीका मतदान अधिकृतले आफूलाई अपहरण गरिएको भन्दै राजीनामा दिएका थिए।