कांग्रेस लुम्बिनीको सभापतिमा अमरसिंह पुन विजयी
नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सभापतिमा अमरसिंह पुन निर्वाचित भएका छन्।
भरतकुमार शाहलाई ८५ मतान्तरले पराजित गर्दै पुन लुम्बिनीको सभापति बनेका हुन्। उनले ८५२ मत पाउँदा शाहले ७६७ मत पाए।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका तर्फबाट पुन र सभापति शेरबहादुर देउवाको पक्षबाट शाह निर्वाचन लडेका थिए। सभापतिमा निर्वाचित पुन पूर्व राज्यमन्त्री, संविधानसभा सदस्य एवं कांग्रेस रोल्पाका निवर्तमान सभापति हुन्।
पदाधिकारीमा एक उपसभापति बाहेक सबै पदमा उनकै प्यानलका उम्मेदवार विजयी भएका छन्। दुई उपसभापतिमा संस्थापन इतरका भुवन श्रेष्ठ (गुल्मी) र संस्थापन पक्षका राजु खनाल (दाङ) विजयी भएका छन्। संस्थापन इतरका रुपन्देहीका अष्टभुजा पाठक र संस्थापनका सुधाकर पाण्डे (कपिलवस्तु) पराजित भएका छन्।
यस्तै, महामन्त्रीमा विक्रम खनाल (नवलपरासी पश्चिम) र सुरेन्द्रराज आचार्य (कपिलवस्तु) विजयी भएको निर्वाचन समितिका सदस्य अधिवक्ता जीवनारायण अधिकारीले जानकारी दिए। महामन्त्रीमा संस्थापनका खिमानसिंह रायमाझी र जन्मजय तिमिल्सेना पराजित भए।
महिला सहमहामन्त्रीमा निमा गिरी विजयी भएकी छन्। उनले संस्थापन पक्षकी सरिता चौधरीलाई पराजित गरिन्।
खुला सहमहामन्त्रीमा अर्घाखाँचीका विष्णु खनाल र दाङका खगराज पाण्डे विजयी भएका हुन्। शनिबार भएको मतदानको आज मतगणना सकिएको हो। निर्वाचनमा एक हजार ६३१ मत खसेका थिए।