शेयर बजारमा निराशा, कतिसम्म घट्ला?
शेयर बजार परिसूचक नेप्से ओरालो लाग्ने क्रम साताको पहिलो दिन आइतबार पनि जारी रह्यो।
आइतबार ७२.३२ अंक (२.८० प्रतिशत)ले घटेको शेयर बजार परिसूचक २ हजार ५१३.८७ बिन्दुमा ओर्लिएको छ। आइतबार कारोबार भएका २२६ मध्ये २१७ कम्पनीको शेयर मूल्य घटेको छ।
पछिल्ला ६ कारोबार भएका दिनमा नेप्से परिसूचक २१८ अङ्कले घटिसकेको छ। डेढ महीनाअघि २ कात्तिकमा पनि २ हजार ५११.१० बिन्दुमा ओर्लिएर फर्किएको बजार धेरै तल नजाने अनुमान विपरीत लगातार खस्किइरहेको छ।
ब्यांकिङ प्रणालीमा तरलता अभाव र नियामकको नियन्त्रणका कारण लगानीकर्ताको मनोबल खस्किएको शेयर बजारका जानकार बताउँछन्। शेयर बजार विश्लेषक मुक्ति अर्याल भन्छन्, “शेयर बजारप्रति राष्ट्र ब्यांकको नीति पश्चगामी छ, सरकारका अधिकारीहरू शेयर बजार धेरै नबढोस् भन्ने चाहन्छन्, जसकारण बजार बढ्न सकेको छैन।”
शेयर विश्लेषक रवीन्द्र भट्टराईका अनुसार, बजारलाई दुई कुराले सोझै असर गरेको छ। पहिलो, ब्यांकिङ प्रणालीको तरलता अभावका कारण ऋण लिएर लगानी गर्ने लगानीकर्ताको सामर्थ्य खुम्चिएको छ। तरलता अभावका कारण ब्यांक तथा वित्तीय संस्थाको ब्याजदर चुलिंदै गएको छ।
दोस्रो, राष्ट्र ब्यांकले चालू आर्थिक वर्षको मौद्रिक नीति मार्फत सार्वजनिक गरेको ठूला लगानीकर्ताले एउटा ब्यांक तथा वित्तीय संस्थाबाट अधिकतम रु.४ करोड र समग्र वित्तीय प्रणाली मार्फत रु.१२ करोडसम्म मात्र शेयर धितो राखी ऋण लिन पाउने व्यवस्थाले पनि ठूला लगानीकर्तालाई शेयर बिक्री गर्न बाध्य बनाएको छ।
राष्ट्र ब्यांकले मौद्रिक नीतिको पहिलो समीक्षा मार्फत शेयर बजार सम्बन्धी आफ्नो नीतिमा पुनरावलोकन गर्ने अपेक्षा गरिए पनि केन्द्रीय ब्यांकले सबै व्यवस्था यथावत् राखेको थियो। यसले लगानीकर्तालाई थप निराश बनाएको छ। “ब्याजदर र राष्ट्र ब्यांकको नीतिका कारण लगानीकर्ता निराश भएका हुन्, तर, बिस्तारै बजार सम्हालिन्छ,” विश्लेषक भट्टराई भन्छन्।
शेयर बजारका लगानीकर्ता निरञ्जन टिबरेवाल जहिले पनि शेयर बजारको सीधा सम्बन्ध वित्तीय प्रणालीको तरलताको स्थितिसँग जोडिने बताउँछन्। उनी विगतको अनुभवले पनि बजारमा तरलता अभाव भएका वेला ब्याजदर चर्को भएर शेयर बजार ओरालो लाग्ने गरेको बताउँछन्।
अहिले वित्तीय प्रणालीमा तरलता अभावका कारण ब्यांक तथा वित्तीय संस्था थप ऋण दिनै नसक्ने स्थितिमा पुगेका छन्। जसले गर्दा ब्यांक तथा वित्तीय संस्थाको कर्जाको ब्याजदर चर्को रूपमा बढेको छ।
बजार विश्लेषक अर्याल शेयर बजार परिसूचक निकै तल्लो बिन्दुमा आइसकेकाले अब भने बजार घट्ने क्रम थामिने बताउँछन्। उनी बजार २ हजार ५०० बिन्दुभन्दा तल नझर्ने अनुमान गर्छन्। “वास्तवमा यो निकै तल्लो बिन्दु हो र लगानीकर्तालाई लगानीको उपयुक्त अवसर पनि हो,” अर्यालले भने, “बजारले बिस्तारै लय समाउँछ।”
शेयर बजारमा अहिले कैयौं कम्पनीको शेयर मूल्य एक वर्षयताकै न्यून बिन्दुमा ओर्लिएको छ। कैयौं कम्पनीका मूल्य उच्च बिन्दुमा पुगेको वेलाभन्दा आधासम्मै घटेको छ। बजारका पुराना लगानीकर्ता टिबरेवाल पनि बजार बिस्तारै उकालो चढ्नेमा शङ्का नभएको बताउँछन्।
“शेयर बजारमा मेरो लामो अनुभवले के भन्छ भने, शेयर बजारमा पैसा डुब्दैन, मात्रै लगानीकर्ताले धैर्य गर्न सक्नुपर्यो,” टिबरेवाल भन्छन्, “आज नभए पनि भोलि त बजार बढिहाल्छ। नियामक र सरकारले पनि ढिलोचाँढो नीतिगत सुधार नगरी सुखै छैन।”