ब्रिटिश एक्रिडेशन काउन्सिल (बीएसी)को मान्यता प्राप्त द ब्रिटिश कलेजमा ‘बीएससी (हन्स) अन्तर्गत साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक विषय’को पढाइ हुने भएको छ।
कलेजले ब्रिटिश इन्जिनियरिङ काउन्सिल तथा ब्रिटिश कम्प्युटर सोसाइटीबाट समेत मान्यता पाएको विषय ‘बीएस्सी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक’ को पढाइ युनिभर्सिटी अफ द वेस्ट अफ इङ्ल्यान्ड (यूडब्लूई)को सम्बन्धनमा शुरू गर्ने जानकारी दिएको हो।
कलेजले सन् २०२२ को जनवरीबाट यस कार्यक्रमको पढाइ शुरू गर्दै छ। नेपाल राष्ट्र ब्यांकका डेपुटी गभर्नर बमबहादुर मिश्रले शैक्षिक कार्यक्रमको औपचारिक शुरूआत गरेका हुन्। कार्यक्रमलाई सम्बोधन गर्दै मिश्रले नेपाल राष्ट्र ब्यांकले पनि साइबर सेक्युरिटीको क्षेत्रमा दक्ष जनशक्तिको अभाव महसूस गरेको बताए। नेपालमा एटीएम ह्याक हुँदा अनुसन्धान गर्न सिंगापुरबाट महँगो रकम तिरेर जनशक्ति ल्याउनुपरेको यथार्थ पोख्दै मिश्रले ब्रिटिश कलेजबाट यस क्षेत्रलाई योगदान पुर्याउने जनशक्ति निर्माण हुने विश्वास व्यक्त गरे।
सोल्टी होटलमा भएको कार्यक्रमको शुरूआत ह्याकिङले हाल देशमा निम्त्याएको खतरालाई प्रतिनिधित्व गर्ने विषयसँग सम्बन्धित नृत्यबाट भएको थियो।
त्यसपछि फ्याक्ट्स नेपालले तयार पारेको शैक्षिक कार्यक्रमसँग सम्बन्धित तथ्य सामग्री प्रस्तुत गरेको थियो। सामग्री प्रस्तुत गर्दै फ्याक्ट नेपालका मनीष झाले पनि दक्ष जनशक्तिको अभाव रहेको बताए।
त्यस्तै, साइबर सेक्युरिटी सम्बन्धी एनसेलका प्रमुख सूचना अधिकारी विशाल उपाध्यायले प्रविधिको फड्कोसँगै चुनौती पनि थपिएको बताए।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तले डिजिटल नेपालको अवधारणमा जानका लागि सूचना प्रविधिको क्षेत्रमा धेरै काम भइरहेको बताए। उनले सञ्चार मन्त्रालयमा पनि साइबर सेक्युरिटी सेन्टरको स्थापना भएको बताए।
कार्यक्रमलाई सम्बोधन गर्दै कलेजका संस्थापक तथा सीईओ राजन कँडेलले नेपाल डिजिटल अर्थतन्त्रतर्फ द्रुत गतिमा अघि बढेकाले साइबर सेक्युरिटी तथा डिजिटल फरेन्सिकको क्षेत्रमा ठूलो माग रहेको बताए।