लुम्बिनीले जित्यो यू-१९ प्रतियोगिताको उपाधि
लुम्बिनी प्रदेशले वाइवाइ यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा आइतबार भएको फाइनल खेलमा सुदूरपश्चिमलाई ११२ रनले पराजित गर्दै लुम्बिनीले उपाधि जितेको हो। लुम्बिनीले दिएको २१३ रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमै समेटियो।
सुदूरपश्चिमका लागि लोकेश बमले २५, खडक बोहोराले २१, शेर मल्लले १५ र नारायण जोशीले ११ रन बनाए। अन्य खेलाडीले दोहोरो अङ्क पनि जोड्न सकेनन्।
लुम्बिनीका लागि अजय चौहानले पाँच, दुर्गेश गुप्ताले तीन र मोहम्मद हुसेनले दुई विकेट लिए।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले ५० ओभरमा सबै विकेट गुमाएर २१२ रन बनाएको थियो। लुम्बिनीका लागि देव खनालले ७०, विशालविक्रम केसीले ५१, दुर्गेश गुप्ताले ३२ र प्रज्वल थापाले २४ रन बनाए।
सुदूरपश्चिमका लागि आकाश चन्दले तीन, हेमन्त धामी र शेर मल्लले दुई-दुई तथा नरेश साउँद र राहुल भण्डारीले एक-एक विकेट लिए।
अजय चौहान प्लेयर अफ द म्याच र मोहम्मद हुसेन प्लेयर अफ द सिरिज भए। प्रतियोगितामा सातै प्रदेशका टोलीले प्रतिस्पर्धा गरेका थिए।