बागमतीमा इन्द्र बानियाँलाई भीमसेनदास प्रधानको समर्थन
नेपाली कांग्रेस बागमती प्रदेशको सभापतिमा भीमसेनदास प्रधानले इन्द्रबहादुर बानियाँलाई समर्थन गरेका छन्।
उनले आइतबार पत्रकार सम्मेलन गरी आफ्नो समर्थन बानियाँलाई रहेको बताएका छन्। शनिबार भएको मतदानमा उनी तेस्रो स्थानमा रहेका थिए।
कांग्रेसको विधान अनुसार, सभापतिमा निर्वाचित हुन ५१ प्रतिशत मत ल्याउनुपर्छ। कुनै पनि उम्मेदवारले आवश्यक मत नल्याएपछि अब पहिलो र दोस्रो स्थानमा रहेका उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ। तेस्रो स्थानमा रहेका प्रधानले पहिलो स्थानमा रहेका बानियाँलाई समर्थन जनाएका हुन्।
लोकतान्त्रिक प्रक्रियामा आफू पराजित भए पनि अबको साथ-सहयोग बानियाँलाई रहने उनले बताए। आफूलाई मत दिने मतदातालाई धन्यवाद दिंदै प्रधानले भने, “एकता र सहमतिका लागि सन्देश दिन मेरो समर्थन बानियाँलाई रहेको छ।”
उनी पूर्व महामन्त्री कृष्ण सिटौला पक्षका हुन् भने बानियाँ कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्षका हुन्। पत्रकार सम्मेलनमा केन्द्रीय सहमहामन्त्री प्रकाशशरण महत, केन्द्रीय सदस्य महालक्ष्मी डिना उपाध्याय, बहादुरसिंह तामाङ लगायत नेता उपस्थित थिए।
शनिबार भएको मतदानमा बानियाँले ९९२, प्रधानले १९७ र जगदीश्वरनरसिंह केसीले ८७२ मत पाएका थिए। केसी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन्।
कांग्रेस निर्वाचन समितिका अनुसार, दोस्रो चरणको सभापतिको मतदान शुरू भएको छ।