यसरी गरिंदै छ देशभर बाघको गणना
देशभरका बाघ पाइने संरक्षित क्षेत्र र आसपासमा आजदेखि बाघ गणना गर्न थालिएको छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक रामचन्द्र कँडेलले आइतबार चितवनबाट बाघ गणनाको शुभारम्भ गरिएको बताए। पर्सा, चितवन, बर्दिया, बाँके र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र र मध्यवर्तीसँग जोडिएको वन क्षेत्रमा बाघ गणना गरिने कँडेलले बताए।
बाघ गणना २५ दिनसम्म चल्नेछ। यसका लागि ३०० जनशक्ति परिचालन गरिनेछ। बाघ गणनाको नतीजा विश्व बाघ दिवस (आगामी १३ साउन)मा सार्वजनिक गर्ने सरकारको तयारी छ।
गणनाका लागि चितवन-पर्सालाई एउटा क्षेत्र मानिएको छ। त्यसलाई तीनवटा ब्लकमा विभाजन गरिएको छ। त्यसै गरी दोस्रो क्षेत्र बाँके-बर्दियालाई चार ब्लकमा विभाजन गरिएको छ।
त्यस्तै, शुक्लाफाँटा र लालझण्डीलाई तेस्रो क्षेत्र मानेर बाघ गणनाको योजना बनाइएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ।
विभागका महानिर्देशक कँडेलका अनुसार, विभाजन गरिएको ब्लकमा दुई किलोमिटर लम्बाइ र त्यति नै चौडाइमा एउटा ग्रिड बनाइन्छ। चितवन पर्साका तीनवटा ब्लकलाई एक हजार ९२४ ग्रिडमा विभाजन गरिएको छ। ती ग्रिडमा बाघको गतिविधि समेट्ने गरी स्वचालित क्यामेरा जडान गरिन्छ।
“बाघ अनिवार्य रूपमा त्यहाँ पर्ने गरी व्यवस्था मिलाइएको हुन्छ,” कँडेल भन्छन्, “क्यामेरामा जति बाघ परेको छ, त्यसको विश्लेषण गरेर तथ्याङ्क निकालिन्छ।”
बाघ गणनामा राखिएका क्यामेराबाट करीब तीन हजार तस्वीर खिचिने र ती सबैको प्राविधिकले विश्लेषण गरेर बाघको सङ्ख्या निकालिनेछ। बाघ गणनामा राखिएका क्यामेरामा एउटै बाघ दोहोरिने सम्भावना हुन्छ। तर, हरेक तस्वीरमा देखिएका बाघको पाटा हेरेर सङ्ख्या निर्धारण गरिन्छ। कँडेलका अनुसार, हरेक बाघको पाटा फरक फरक हुन्छ। सन् २००० अघि भने बाघको पाइलाका आधारमा गणना गरिन्थ्यो।
नेपालमा बाघको सङ्ख्या वर्षेनि बढ्दै गएको छ। सन् २०१८ को गणनामा बाघको सङ्ख्या २३५ थियो। त्यसमध्ये चितवन राष्ट्रिय निकुञ्जमा ९३, बर्दियामा ८७, बाँकेमा २१, पर्सामा १८ र शुक्लाफाँटामा १६ बाघ पाइएका थिए। सन् २०१३ को गणनामा नेपालमा बाघको सङ्ख्या १९८ थियो।
नेपालमा सन् १९९५ बाट बाघ गणना गर्न थालिएको हो। त्यति वेला ९८ बाघ पाइएको थियो। यस पटकको गणनाबाट बाघको सङ्ख्या वृद्धि हुने अनुमान गरिएको छ। नेपालले सन् २००९ मा रुसको पिटर्सबर्गमा आयोजित बाघ सम्मेलनमा १२१ बाट सङ्ख्या बढाएर सन् २०२२ मा दोब्बर गर्ने प्रतिबद्धता जनाएको थियो।