कांग्रेस सुदूरपश्चिमको सभापतिमा बलायर निर्वाचित
नेपाली कांग्रेस सुदूरपश्चिमको सभापतिमा वीरबहादुर बलायर निर्वाचित भएका छन्।
आइतबार बिहान सम्पन्न मतगणनामा बलायरले ६८८ मत पाएका छन्। उनका प्रतिद्वन्द्वी नारायणदत्त मिश्रले २८० मत पाएका छन्। प्रदेश नेतृत्वका लागि भएको निर्वाचनमा १ हजार ३ मत खसेको थियो।
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्षबाट बलायर र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट मिश्र चुनाव लडेका थिए। अन्य पदमा पनि बलायरको प्यानल नै निर्वाचित भएको छ।
उपसभापतिमा जनकराज चौधरी ६१० र लोकराज अवस्था ५२३ मत प्राप्त गरी विजयी भएका छन्। उपसभापतिमा पराजित गोपाल गुरुङले २८१, मनबहादुर रावलले २६३ र हिमबहादुर रावलले १२१ मत पाएका छन्।
यस्तै, महामन्त्रीमा नरनारायण शाह ‘मनु’ ६४८ र मेघराज खड्का ६३५ मत पाएर विजयी भएका छन्। महामन्त्रीमा पराजित प्रताप गुर्धामीले १३३ र रामबहादुर शाहीले ३०३ मत पाएका छन्।
चिन्तामणि भट्ट ५३३ र गोपालदत्त भट्ट ५२९ मत प्राप्त गरेर सहमहामन्त्रीमा निर्वाचित भएका छन्। सहमहामन्त्रीमा पराजित नरेन्द्रप्रसाद भट्टले २९२, पदमराज पन्तले २५४, लक्ष्मीबहादुर शाहीले १६४ र हर्कबहादुर स्वाँरले ६८ मत पाएका छन्।
यसै गरी, महिला सहमहामन्त्रीमा अम्बिकाकुमारी चलाउने विजयी भएकी छन्। उनले ६८६ र उनकी प्रतिद्वन्द्वी खिना भण्डारीले २२३ मत पाएकी छन्।