बागमतीको सभापतिका लागि बानियाँ र केसी फेरि प्रतिस्पर्धामा
नेपाली कांग्रेस बागमती प्रदेश सभापतिका लागि इन्द्रबहादुर बानियाँ र जगदीश्वर नरसिंह केसीबीच फेरि प्रतिस्पर्धा हुने भएको छ।
गएराति सम्पन्न मतगणनामा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नल्याएपछि दोस्रो चरणको मतदान हुने भएको हो। कांग्रेस विधान अनुसार, सभापतिमा निर्वाचित हुन ५१ प्रतिशत मत आवश्यक पर्छ।
कुनै पनि उम्मेदवारले आवश्यक मत नल्याएपछि आइतबार दोस्रो चरणको मतदान हुने भएको हो।
शनिबार भएको मतदानमा बानियाँले ९९२, केसीले ८७२ र भीमसेनदास प्रधानले १९७ मत ल्याए। अब सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवार बानियाँ र केसीबीच फेरि प्रतिस्पर्धा हुने भएको हो।
बानियाँलाई कांग्रेस सभापति शेरबहादुर देउवा, केसीलाई वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रधानलाई पूर्व महामन्त्री कृष्ण सिटौला पक्षको समर्थन रहेको थियो।
सभापतिका लागि आज पुनः मतदान हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। पहिलो चरणमा २ हजार ८३ मत खसेको थियो। बागमतीमा २ हजार १५१ मतदाता रहेका छन्।