मुम्बईमा जन्मिएका अजाज पटेलले लिए भारत विरुद्ध १० विकेट
भारत र न्यूजिल्यान्डबीच भइरहेको दोस्रो टेस्टमा अजाज पटेलले १० विकेट लिएर कीर्तिमान बनाएका छन्।
मुम्बईको वानखडे स्टेडियममा भइरहेको दोस्रो टेस्टको दोस्रो दिन भारतका मोहम्मद सिराजलाई आउट गर्दै न्यूजिल्यान्डका पटेलले १० विकेटको कीर्तिमान बनाएका हुन्। उनी १० विकेट लिने तेस्रो खेलाडी बनेका छन्। यसअघि टेस्टमा इङ्ल्यान्डका जिम ल्याकर र भारतका अनिल कुम्ब्लेले १० विकेट लिएका थिए।
भारतको मुम्बईमा जन्मिएका ३३ वर्षीय पटेलले न्यूजिल्यान्डका लागि मुम्बईकै वानखडे स्टेडियममा खेल्दै इतिहास रचेका हुन्। उनको यो न्यूजिल्यान्डका लागि ११औं टेस्ट हो।
पटेलले पहिलो विकेटका रूपमा २७.३ ओभरमा शुभमन गिललाई स्लिपमा क्याच गराए। त्यसपछि २९.२ ओभरमा चेतेश्वर पुजरालाई बोल्ड गरे। त्यही ओभरको अन्तिम बलमा विराट कोहलीलाई एलबीडब्लूको धरापमा पारे।
चौथो विकेटका रूपमा ४७.४ ओभरमा श्रेयस अयरलाई आउट गरेका पटेलले ७१.४ ओभरमा ऋद्धिमन शाहको विकेट लिए। त्यही ओभरको पाँचौं बलमा रवीशचन्द्र आश्विनलाई पेभेलियन पठाए।
उनी त्यत्तिमै रोकिएनन्। ९९.५ ओभरमा मयंक अग्रवालको र १०७.५ ओभरमा अक्षर पटेलको विकेट लिए। त्यस्तै, १०९.२ ओभरमा जयन्त यादवलाई पेभेलियन पठाएका पटेलले पाँचौं बलमा मोहम्मद सिरजलाई आउट गर्दै १० विकेटको कीर्तिमान बनाए।
यसअघि न्यूजिल्यान्डका लागि खेलेका १० टेस्टमा उनले २९ विकेट लिइसकेका छन्। बायाँ हाते बलर पटेलले सात वटा टी-२० खेलमा ११ विकेट लिएका छन्। उनी अझै न्यूजिल्यान्डको एकदिवसीय टोलीमा भने अटाएका छैनन्।
मुम्बई टेस्टको पहिलो इनिङमा भारतले १०९.५ ओभरमा ३२५ रन बनाएको थियो। त्यसको जवाफमा न्यूजिल्यान्ड ६२ रनमै समेटियो। दोस्रो दिनको खेल चलिरहँदा भारतले दोस्रो इनिङ शुरू गरेको छ।