‘गीत गाएर पाप हैन, सत्कर्म गरेको रहेछु’
म साहित्यमा रुचि राख्छु, तर सिर्जना गर्न असमर्थ छु। यो मेरा कमजोरी भनूँ वा के भनूँ? तर, साहित्यको उत्सर्गका लागि कविले शब्दद्वारा बुने जस्तो गायकले ध्वनितरङ्गद्वारा आवरण बुनिरहेको हुन्छ।
आजभन्दा करीब १४-१५ वर्षअघि कमल दीक्षितज्यूलाई मैले एउटा सुझाव पोखेको थिएँ। सो के भने, गायकगायिकाले पनि प्रत्यक्ष वा परोक्ष रूपले नेपाली साहित्यको श्रीवृद्धिमा सेवा पुर्याई नै रहने हुनाले उनीहरूलाई पनि मदन पुरस्कार वा त्यस्तै अन्य कुनै उपयुक्त पुरस्कार दिने चाँजो मिलाइदिनुपर्यो।
त्यसो भन्दा, उहाँले केही भन्नुभएको थिएन, सके त्यस बखत उहाँले केही भन्न सक्ने कुरा पनि थिएन। त्यसैले मैले भनेको कुरा हाँसेर टारिदिनुभएको थियो। आज यो समारोहको बीचमा आफू र स्वयं दीक्षितज्यू समेतलाई पाउँदा मलाई त्यो दिनको सम्झना आइरहेछ।
उहिले उहाँ मात्र हाँस्नुभएको थियो, अहिले हामी सबै उहाँलाई साथ दिंदै छौं। मलाई लाग्छ, नेपालको सम्पूर्ण सांस्कृतिक जगत् हाँसिरहेको छ।
२०४६ साल असोज ७ गते बेलुकी ७.४० को नेपाल टेलिभिजनद्वारा प्रसारित समाचारको एउटा अंश सुनेर म एकछिन तिरमिराएँ। कारण के पर्यो भने त्यहाँ एउटा बम पड्केको थियो। झट्ट विश्वासै गर्न नसकिने खालको। तर, त्यो रूस र अमेरिकाले बनाएको जस्तो विध्वंसकारी बम थिएन। बरु, कल्याणकारी थियो।
गजबको कुरा के भयो भने, नेपालमा पहिलोपल्ट प्रक्षेपण गरिएको त्यो बमको स्वादमा कुन्नि कस्तो कस्तो सुगन्धित खालको एउटा मिठास पाएँ मैले। मलाई खेतैखेत दौडन मन लागेर आयो, आकाशभरि गाउन मन लागेर आयो, अनि नदीमा झ्वाम्म हाम फालेर बेस्मारी पौडी खेल्न मन लागेर आयो!
किनभने, श्रीदरबारटोलको मदन पुरस्कार गुठीद्वारा निर्मित 'जगदम्बा-श्री' पुरस्कार नामक उक्त प्रक्षेपास्त्र सर्वप्रथम मेरै तालमा बास गर्न आइपुग्यो। कस्तो संजोग! तर, कति स्वादिलो! मैले आफूलाई भाग्यमानी ठानें। गीत गाएर पाप हैन, सत्कर्म गरेको रहेछु, धर्म गरेको रहेछु भन्ने विश्वास अटल भयो मेरो।
भद्रजन, म साहित्यमा रुचि राख्छु, तर सिर्जना गर्न असमर्थ छु। यो मेरा कमजोरी भनूँ वा के भनूँ? तर, साहित्यको उत्सर्गका लागि कविले शब्दद्वारा बुने जस्तो गायकले ध्वनितरङ्गद्वारा आवरण बुनिरहेको हुन्छ, योगदान पुर्याइरहेको हुन्छ। कुरा एउटै हो, प्रयोगविधि मात्र फरक छ भन्ने मेरो धारणा छ।
मैले बारम्बार भनेको यस कुरामा आज मदन पुरस्कार गुठीले सही थापेको देख्दा मलाई अत्यन्त प्रसन्नता भइरहेको छ। तसर्थ आ-आफ्नो क्षेत्रबाट नेपाली साहित्यको लोकप्रियता बढाउन समस्त मित्रहरूलाई म हार्दिक अनुरोध गर्दछु।
अन्तमा विजयादशमीको यस पावन घडीमा मदन पुरस्कार गुठीले पहिलोपल्ट जगदम्बामा शिरोधार्य गर्ने अवसर प्रदान गरेकोमा गुठीका समस्त गुठियारहरूलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु र जसको स्मृतिमा यो पुरस्कार स्थापना भएको हो उनै स्वर्गीय रानी जगदम्बालाई स्मरण गर्दै कोमल श्रद्धाञ्जली अर्पण गर्दछु। आज यस समारोहमा उपस्थित हुनुभई समारोहको शोभा बढाइदिनुभएकोमा तपाईं सबैलाई धन्यवादका साथै विजयादशमीको मङ्गलमय शुभ-कामना टक्र्याउँछु।
(२० असोज २०४६ मा आयोजित समारोहमा ‘जगदम्बा-श्री’ सम्मान ग्रहण गरेपछि नारायणगोपालले दिएकाे मन्तव्यको सम्पादित अंश।)