विवाह पञ्चमी महोत्सवमा रमाउँदै जनकपुरधाम
त्रेता युगमा राम र सीताबीच भएको विवाहको सम्झनामा मनाइने विवाह पञ्चमी महोत्सव जनकपुरधाममा प्रारम्भ भएको छ। सात दिने महोत्सवका लागि जनकपुरधाम सजाइएको छ।
महोत्सवको पहिलो दिन शुक्रबार नगर दर्शन गरिएको छ। यस क्रममा राम र लक्ष्मणको प्रतीकका रूपमा दुई बालकलाई जानकी मन्दिरको प्राङ्गणबाट मिथिलानगर प्रदर्शन गरिएको छ।
दोस्रो दिन, आज फूलबारी लीला रहेको छ। यसमा विवाह मण्डपमा गरिने विविध कार्यक्रम गरिन्छन्। फूलबारीमा नै राम र सीताको पहिलो भेट भएको थियो।
२३ मंसीरसम्म चल्ने महोत्सव अन्तर्गत १९ मंसीरमा धनुषयज्ञ, २० मंसीरमा तिलकोत्सव, २१ मंसीरमा मटकोर, २२ मंसीरमा स्वयंवर तथा विवाह र २३ मंसीरमा रामकलेवा गरी महोत्सव सम्पन्न हुनेछ।
त्रेतायुगमा मिथिला नरेश जनकले छोरी सीताको स्वयंवरका लागि प्रतिस्पर्धामा राखेको शिव धनुषलाई अयोध्याका राजा दशरथका जेठा पुत्र रामले तीन टुक्रा पारेका थिए। त्यसपछि उनीहरूको विवाह भएको थियो। त्यही सम्झनामा महोत्सवको आयोजना हुँदै आएकोे महन्थ रामतपेश्वर दास वैष्णवले बताए।
गोस्वामी तुलसी दासको रामायण अनुसार, जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको स्वयंवरमा ३३ कोटि देवीदेवताको उपस्थिति थियो। सीतालाई छोरी वा बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा उपस्थित हुने विश्वासले हर्ष र उल्लासका साथ प्रतिछायाँ जन्तीको आगमनदेखि बिहेसम्म सहभागी हुन्छन्।
यस महोत्सवमा हिन्दूका अतिरिक्त बौद्ध, शिख र इसाइ लगायत अन्य धर्मावलम्बी पनि सामेल हुँदै आएका छन्। महोत्सवका क्रममा मिथिलाको संस्कृति अनुसार तिलकोत्सव, मटकोर, स्वयंवर र विवाह संस्कार पनि हुने गरेको छ।
जानकी मन्दिरका महन्थ दासले विवाह पञ्चमी महोत्सवमा नेपाल-भारतका श्रद्धालु जनकपुर आउने गरेको बताए।
गएका दुई वर्ष कोरोनाभाइरसका कारणले विवाह पञ्चमी महोत्सव प्रभावित भएको थियो। यो वर्ष पाँच लाखभन्दा बढी श्रद्धालु जनकपुर आउने विश्वास गरिएको महन्थ दासले बताए।
रामायणका जानकार बालव्यास हरिशरण उपाध्यायले विवाह पञ्चमी महोत्सव यस क्षेत्रको पहिचान भएको बताए। वैराग्य र सन्तको जनकपुरमा विवाह कार्यक्रमले आफ्नो विशिष्ट सांस्कृतिक पर्वको स्थान बनाएको छ।
विवाह पञ्चमी महोत्सव अवधिभर जनकपुरधाम क्षेत्रमा माछा-मासु, मदिरा तथा लागूपदार्थ सेवन र बिक्री-वितरणमा रोक लगाइएको छ। १७ देखि २६ मंसीरसम्म नगरक्षेत्रमा माछामासु, मदिरा तथा लागूपदार्थ सेवन र बिक्री-वितरणमा रोक लगाइएको जनकपुर उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्नप्रसाद उपाध्यायले बताए।