कांग्रेस कर्णालीको सभापतिमा त्रिपक्षीय प्रतिस्पर्धा
नेपाली कांग्रेसको प्रदेश अधिवेशन अन्तर्गत कर्णालीको सभापतिमा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ।
वडा, क्षेत्र र जिल्लाका अधिवेशनमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच प्रतिस्पर्धा भएको थियो। प्रदेशमा कांग्रेस उपसभापति विमलेन्द्र निधि पक्ष पनि प्रतिस्पर्धा गर्न लागेको हो।
देउवा पक्षबाट जुम्लाका ललितजंग शाही, पौडेल पक्षबाट कालिकोटका भूपेन्द्रजंग शाही र निधि पक्षबाट कालिकोटकै मोतिराज बमले सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।
देउवा र पौडेल पक्षबाट पदाधिकारी सहित सदस्यमा पनि प्यानल बनाएर उम्मेदवारी दर्ता भएको छ। निधि पक्षबाट सभापतिमा मात्रै उम्मेदवारी दर्ता गरिएको छ। निधि पक्षबाट सभापतिको उम्मेदवार बनेका बम यसअघि देउवा पक्षमै थिए।
प्रदेश महामन्त्री पदमा देउवा पक्षबाट निरञ्जन केसी र कृष्णबहादुर रोकायले उम्मेदवारी दिएका छन् भने पौडेल पक्षबाट कृष्ण विसी र खगेन्द्रबहादुर मल्ल उम्मेदवार बनेका छन्। त्यस्तै, देउवा पक्षकै सुर्खेतका गोविन्द कोइरालाले पनि महामन्त्रीमा उम्मेदवारी दर्ता गराएका छन्।
शुक्रबार उम्मेदवारी दर्ता भएको छ भने शनिबार मध्याह्न १२ देखि बेलुका ५ बजेसम्म मतदान हुनेछ। कर्णालीमा प्रदेश प्रतिनिधि ४३३ र महाधिवेशन प्रतिनिधि ३१६ गरी ७४९ मतदाता छन्।