प्रदेश सभापतिमा कांग्रेसले बनाएन महिलालाई उम्मेदवार
नेपाली कांग्रेसको प्रदेश नेतृत्वमा महिला नआउने देखिएको छ। शुक्रबार साँझसम्म उम्मेदवारी दर्ता भएका र सम्भावित प्रदेश सभापतिको उम्मेदवारका रूपमा चर्चामा रहेका सबै पुरुष छन्।
कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत १६ मंसीरदेखि कांग्रेसको प्रदेश अधिवेशन प्रारम्भ भएको छ। प्रदेश २ बाहेक ६ वटा प्रदेशमा निर्वाचन कार्यक्रम शुरू भइसकेको छ।
सबै प्रदेशमा कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले प्रदेश सभापतिमा उम्मेदवारी दिएका छन्। बागमतीमा प्रदेशमा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षले पनि सभापतिमा उम्मेदवारी दिएको छ। कुनै पनि पक्षले महिलालाई सभापतिको उम्मेदवार बनाएको छैन।
कांग्रेस केन्द्रीय सदस्य डिला संग्रौला कुनै पनि प्रदेशमा महिला नेतृत्वमा नआएको बताउँछिन्। “प्रदेश सभापतिमा महिला आएनन्,” नेत्री संग्रौलाले हिमालखबरसँग भनिन्, “महिलालाई सभापतिमा ल्याउनका लागि नेतृत्वले सहयोग गर्नुपर्छ।”
यसअघि केन्द्रमा प्रतिस्पर्धा गरेका कांग्रेस नेताहरू पनि यस पटक प्रदेश सभापतिमा प्रतिस्पर्धामा उत्रिएका छन्। कांग्रेसको प्रदेश सभापतिलाई मुख्यमन्त्रीको दाबेदारका रूपमा हेरिएको छ।
प्रदेश सभापतिका उम्मेदवार :
प्रदेश १ : उद्धव थापा र गुरुराज घिमिरे।
प्रदेश २ : श्रीकृष्ण यादव र रामसरोज यादव (उम्मेदवारी घोषणा)।
बागमती : इन्द्रबहादुर बानियाँ, भीमसेनदास प्रधान र जगदीश्वरनरसिंह केसी।
गण्डकी : अर्जुन जोशी र शुक्रराज शर्मा।
लुम्बिनी : भरतकुमार शाह र अमरसिंह पुन।
कर्णाली : ललितजङ्ग शाही, भूपेन्द्रजङ्ग शाही र मोतीराज बम।
सुदूरपश्चिम : वीरबहादुर बलायर र नारायण मिश्र।