कांग्रेस सभापतिका लागि बागमतीमा त्रिपक्षीय प्रतिस्पर्धा
नेपाली कांग्रेस बागमती प्रदेशको सभापति पदका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन्।
हेटौंडामा जारी प्रदेश अधिवेशनमा शुक्रबार भीमसेन दास प्रधान, इन्द्रबहादुर बानियाँ र जगदीश्वरनरसिंह केसीले उम्मेदवारी दिएका छन्। तीनै जनाको उम्मेदवारी दर्ता भएको प्रदेश निर्वाचन समितिका संयोजक केशवप्रसाद काफ्लेले जानकारी दिए।
पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षका तर्फबाट प्रधानले उम्मेदवारी दिएका छन्। उनको प्रस्तावकमा शिवप्रसाद हुमागाईं र समर्थकमा कुन्दनराज काफ्ले छन्।
त्यस्तै, कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्षबाट बानियाँले उम्मेदवारी दिएका हुन्। उनको प्रस्तावकमा तीर्थ लामा र समर्थकमा दुर्लभ थापा छन्।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट केसीले उम्मेदवारी दिएका छन्। उनलाई महामन्त्री शशांक कोइराला र केन्द्रीय सदस्य शेखर कोइराला पक्षको पनि समर्थन छ।
बिहीबार हेटौंडामा उद्घाटन भएको प्रदेश महाधिवेशनमा शुक्रबार अपराह्न ३ बजेसम्म उम्मेदवारी दर्ताको समय थियो। अब शनिबार बिहान ९ बजेदेखि मतदान हुने प्रदेश निर्वाचन समितिका संयोजक काफ्लेले बताए।
प्रदेश प्रतिनिधिका रूपमा चुनिएर आएका दुई हजार एक सय प्रतिनिधि निर्वाचनमा भाग लिनेछन्। उनीहरूले प्रदेश सभापति एक जना, उपसभापति दुई जना, महामन्त्री दुई जना, सहमहामन्त्री तीन जना सहित ९१ सदस्यीय प्रदेश कार्यसमिति चयन गर्नेछन्।