नारायणगोपाल र गोपाल योञ्जन बाँचिरहँदा मैले मृत्यु पनि बिर्सिएछु
कहिलेकाहीं एक्लै बस्दा दुई चीजमा अलिकति पछुतो लाग्छ। एउटा गोपालले भनेको र अर्को नारायणले पनि मसँग असाध्यै गीत मागेको वेला गीत नलेखेको।
मुगा, धनकुटामा जन्मेका नगेन्द्र थापा नेपाली सुगम सङ्गीतको एक स्रष्टा, द्रष्टा अनि अभियन्ता हुन्। सन् ६० को दशकमा थापा स्नातक तह अध्ययन निम्ति दार्जीलिङ पुग्दा नेपाली आधुनिक सङ्गीतको आकाशमा सुनौला रङ्ग भरिंदै थियो। त्यसैवेला थापाले पनि कूची समाते र त्यस सङ्गीताकाशमा थोरै तर चम्किला रङ भरिदिए।
दार्जीलिङको नर्थ पोइन्टमा बिए अध्ययन गर्दा थापाले ‘क्लासमेट’ मात्र नभएर ‘बेन्चमेट’ का रूपमा गोपाल योञ्जन र पिटर जे. कार्थकलाई भेटे। अनि हिमालय कला मन्दिरका साँझका महफिलहरूमा सहभागी हुन थाले। त्यसैवेला गोपालको सङ्गीत र कुमार सुब्बाको स्वरको ‘साँझको तारा डुबी गयो पारि हिमालमाथि’ ले थापालाई गीतकारका रूपमा दार्जीलिङमा राम्रो पहिचान दियो।
तर, कुनै परिकथा झैं जब नेपालका उदीयमान गायक नारायणगोपाल आफ्नी ‘प्रेयसी’ पेमला अनि रेकर्ड निम्ति आवश्यक गीतहरू खोज्दै दार्जीलिङ आए, नगेन्द्र थापा, नारायण गोपाल र गोपाल योञ्जन सिर्जना र सङ्गतका ‘ट्रियो’ (त्रय) बन्न पुगे। यसैवेला थापारचित चिनारी हाम्रो धेरै पुरानो, बिर्सेर फेरि मलाई नहेर र सँगाल घुम्टोहरूले उनलाई गीतकारको राष्ट्रिय ख्याति दिलायो।
नारायणगोपालको स्वर र गोपाल योञ्जनको सङ्गीतमा थापा रचित बदलिंदो आकाशको गीत धेरै पछि रेकर्ड भए पनि थापा अन्य गायक-सङ्गीतकारलाई गीत दिन उति इच्छुक रहेनन्। आफूलाई नारायणगोपाल र गोपाल योञ्जनबीचको ‘स्यान्डवीच’ ठान्ने थापाले आफूलाई सधैं ‘लो प्रोफाइल’ मा राखे।
नारायणगोपाल र गोपाल योञ्जनको अल्पायुमै निधनपछि लगभग एकान्तवासमा रहँदै आएका थापाले तिहारको पूर्वसन्ध्यामा शेखर खरेलसँग मालिगाउँस्थित निवासमा दार्जीलिङका स्वर्णिम दिन अनि नारायणगोपाल र गोपाल योञ्जनको सिर्जना र मित्रताको सेरोफेरोमा लामो कुराकानी गरे।
दार्जीलिङमा अध्ययन पूर्व तपाईंका कविता ‘रूपरेखा’मा छापिएका थिए। तर, गीतकारका रूपमा तपाईंको उदय दार्जीलिङबाट नै भएको देखिन्छ। गीतकार बन्ने परिस्थिति कसरी तयार भयो?
दार्जीलिङको नर्थ पोइन्टमा बिए पढ्दा गोपाल योञ्जन मेरा सहपाठी थिए। म त्यतिवेला कविता लेख्ने गर्थें। त्यतिवेलाको दार्जीलिङ नेपालभन्दा एकदमै झिलिमिली थियो। साहित्य, लोकनाच-लोकगीतदेखि आधुनिक ‘पर्फर्मिङ आर्ट’ उत्कर्षमा थियो।
गोपाल हिमालय कला मन्दिरमा काम गर्न थालेको थियो। प्रेमका, मायाका मुक्तक जस्ता छोटा कविता सुनेपछि गोपालले मलाई ‘नगेन्द्र तपाईं राम्रा गीत लेख्न सक्नुहुन्छ, लेख्नुस् न’ भनेर कर गर्यो। धेरै समयसम्म त मैले मानिनँ, तर अलि पछि गीत लेखें।
गोपाल योञ्जन मार्फत हिमालय कला मन्दिरका लागि तपाईंले लेख्नुभएका गीत त्यहीं गाइन्थ्यो मात्र कि रेकर्ड पनि हुन्थे?
अहँ, रेकर्डिङ हुँदैनथ्यो। जब नारायणगोपाल दोस्रो पटक भारतको बरोडाबाट गीत खोज्न दार्जीलिङ आए, त्यहींबाट नै रेकर्डिङको सन्दर्भ शुरू भयो। रत्न रेकर्डिङले उनको स्वरमा आठ वटा गीतको एलपी निकाल्ने तय गरेको थियो। मैले र गोपालले लेखेका चालीस-पचास वटा गीत लहरै राखेर गोपालले प्रत्येक गीत गाएर सुनाइसकेपछि नारायणले ती गीतहरू फेरि दोहोर्याएर पढेर र सङ्गीत सुनेपछि आठ वटा गीत छानिएका थिए।
नारायणगोपालले छान्नुभएका ती आठ गीत कहाँ रेकर्ड भए?
ती कलकत्तामा रेकर्ड भए। यसका लागि नारायण र गोपाल कलकत्ता पुगेका थिए।
तपाईं काठमाडौंबाट दार्जीलिङ पढ्न जानुभएको अनि नारायणगोपाल खाट्टी काठमाडौंको, तपाईंहरूको चिनाजानी यतै भइसकेको थियो वा दार्जीलिङमै पहिलो पल्ट भेट्नुभयो?
हाम्रो पहिलो भेट नै दार्जीलिङमा भएको हो। यसको श्रेय चाहिं ईश्वरवल्लभलाई जान्छ। उहाँले नै नारायणलाई म र गोपालसँग भेट गराउन ल्याउनुभयो। यसरी एकाध पटक भेटपछि ईश्वरवल्लभले नै एक पटक ‘नगेन्द्र भाइ यी दुईलाई मीत लगाउन पाए कस्तो होला?’ भनेर प्रस्ताव राख्नुभयो।
त्यो कुरा मैले गोपाललाई भनें। उसले कुनै नाइँनास्ति गरेन। भोलिपल्टै महाकाल डाँडा गयौं र गुरु राखेर अगेठीमा आगो बालेर मीत लगाउने काम भयो। त्यसपछि उनीहरूले एकअर्काको नाम कहिल्यै उच्चारण गरेनन्, ‘मीतज्यू’ मात्र भने।
यो समयमा नारायणगोपाल र पेमलाबीच पत्र आदानप्रदान भइसकेको थियो त?
भइसकेको रहेछ। यही वेला नै नारायणले हामीसँग पेमलालाई भेट्न जान्छु भनेको हो। तर, पेमला कहाँ पढ्छिन् भन्नेबारे उसलाई थाहा रहेनछ। गभर्मेन्ट कलेज पुगेर बुझ्दा घर मिरिक भनेर थाहा भयो। नारायण, गोपाल, कर्म (योञ्जन) र म एउटा ल्यान्डरोभर लिएर मिरिक गयौं। पेमला मिरिकको एउटा स्कूलमा पढाउँदी रहिछन्। स्कूल पुगेपछि नारायण र कर्म अलि माथि नै बसे। हामीले उनलाई पहिले खबर पठायौं।
पेमला हामीलाई भेट्न आएपछि गोपालले मीतज्यू पनि आउनुभएको छ भनेर औंला पछाडितिर देखाइदियो। हो न हो, मलाई नै नारायणगोपाल भन्ठानेर पेमलाको गोरो अनुहार एकदमै रक्तिम भयो। लाजले टाउको पनि निहुरिन थाल्यो। मैले ठम्याइहालें र ‘म होइन नारायण, ऊ पर छ’ भनेर हातले इशारा गरिदिएँ। पछि उनीहरूलाई नेपालको सीमा रहेको सिमाना भन्ने डाँडामा बात मार्न हामीले छाडिदियौं।
तपाईं हिमालय कला मन्दिरसँग आबद्ध हुनुहुन्थ्यो। तर, त्यही वेला अम्बर गुरुङ, शरण प्रधान, रञ्जित गजमेर आदि पनि उत्तिकै सक्रिय थिए। तपाईंहरूबीच साङ्गीतिक आदान-प्रदान कस्तो हुन्थ्यो?
त्यहाँ सबैको आ-आफ्नै समूह थियो। गोपाल र मेरो एउटा समूह थियो। शरण र रञ्जितको एउटा समूह थियो। अम्बर गुरुङ आफ्नै समूह मार्फत सक्रिय हुनुहुन्थ्यो। त्यति धेरै आउजाउ चाहिं हुँदैनथ्यो।
त्यतिवेला अगमसिंह गिरीले सञ्चालन गर्नुभएको भानु स्कूलको भुइँतलामा अम्बर गुरुङले आर्ट एकेडेमी सञ्चालन गर्नुभएको थियो र त्यहाँ निकै जमघट हुने हामीले सुनेका छौं। तपाईं त्यहाँ कत्तिको पुग्नुहुन्थ्यो, माहोल कस्तो हुन्थ्यो?
म त्यहाँ भने गइनँ। किनभने, अलि छुट्टी मिलाउन पर्थ्याे। तर, अगमसिंह गिरीसँग मेरो अत्यन्त राम्रो सम्बन्ध थियो। उहाँ मजाले पिउनुहुन्थ्यो। बेलुकातिर कला मन्दिरबाट फर्किंदा बाटोमा पर्ने रेस्टुराँमा उहाँसँग म पनि पुगेको हुन्थें। खाएपछि उहाँ लर्बरिनुहुन्थ्यो।
रेस्टुराँबाट निस्कँदा उहाँ आफ्नो हात मेरो काँधमा राख्नुहुन्थ्यो र म उहाँलाई डोर्याएर लान्थें। तर, पिए पनि अत्यन्तै सतर्क उहाँ भन्नुहुन्थ्यो, ‘मलाई छाडिदिनुस् नगेन्द्र भाइ, म बिस्तारै जान्छु, जस्तो जे भने पनि तपाईं नेपालको प्रधानमन्त्रीको भाइ, लाज हुन्छ’।
अम्बर गुरुङसँग चाहिं कस्तो सम्बन्ध रह्यो?
उहाँसँग त एकदमै सुद्दा-सुद्दी दाजुभाइको साइनो हो मेरो। उहाँ मभन्दा सिनियर मान्छे, साथीभाइको जस्तो सम्बन्ध रहेन।
त्यो वेलाको दार्जीलिङ साहित्यिक रूपले निकै उर्वर थियो। सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला, पारसमणि प्रधान (सूधपा)को युग अनि अगमसिंह गिरी, इन्द्रबहादुर राई, ईश्वरवल्लभ, बैरागी काइँला आदि क्रियाशील रहेको समय, साहित्यिक सङ्गत वा महफिल पनि जम्थ्यो कि?
महफिल त जमेन। म अध्ययनमा थिएँ र छुट्टी माग्नुपर्ने हुन्थ्यो। तर, चिनाजानी राम्रो भएकाले भेटेको वेला कुराकानी हुन्थ्यो। साहित्य मात्र नभएर अरू विषयमा पनि कुराकानी हुन्थ्यो।
दार्जीलिङमा गीत-मुक्तक लेख्ने, हिमालय कला मन्दिरमा सङ्गीत भर्ने क्रम कति लामो चल्यो?
म दार्जीलिङमा रहुन्जेल झण्डै चार वर्ष त्यसरी बित्यो र त्यसपछि म नेपाल फर्किएँ, २०२४ साल अन्त्यतिर।
तपाईं नेपाल फर्किएपछि फेरि गोपाललाई लिन दार्जीलिङ पुग्नुभएको हामीले पढे/सुनेका छौं। प्रसङ्ग चाहिं के थियो?
काठमाडौं आएपछि बेलुकापखको कला मन्दिरको सम्झना आउँदो रहेछ। गोपालको सम्झना आउँदो रहेछ। ल भएन, गोपाललाई लिन जान्छु भनेर २०२५ सालमा दार्जीलिङ पुगें। आमासँग गोपाललाई मागेर नेपाल फर्किएँ।
त्यति नै वेला नारायण पनि बरोडाबाट बीचमै सङ्गीत अध्ययन छाडेर नेपाल फर्किए। हामी तीन जना बेलुकातिर घुम्न निस्कन्थ्यौं। कहिले पशुपति पुग्थ्यौं। त्यहाँ एक जना बाबाजी थिए, नारायणलाई माया गर्ने। देख्ने बित्तिकै ‘नारायण’ भनेर बोलाउँथे। ‘लौ लगाओ’ भनेर चिलिम तेर्स्याउँथे, र उनी पनि मजाले चिलिम तान्थे।
गोपाल योञ्जन त दार्जीलिङबाट छात्रवृत्तिमा नेपाली साहित्यमा एमए पढ्न आएका थिए, होइन र?
हो, उसलाई यहाँ लिएर आएपछि केही न केही त गर्नैपर्थ्यो। ऊ दिदीकहाँ बसेको थियो। त्यसैले उसलाई पढ्न- पढाउन सजिलो होस् भनेरै मैले छात्रवृत्ति मिलाएको हो। दाइ (सूर्यबहादुर थापा) प्रधानमन्त्री र काका ज्ञानेन्द्रबहादुर कार्की शिक्षामन्त्री, एउटा छात्रवृत्ति मिलाउन गाह्रो हुँदैन भनेर मलाई थाहा थियो।
गोपाल योञ्जनलाई तपाईंले काठमाडौं ल्याउनुभयो। त्यसैगरी अम्बर गुरुङ, रञ्जित गजमेर, पिटर जे. कार्थक आदि पनि काठमाडौं आउनुभएपछि दार्जीलिङको साङ्गीतिक माहोल स्वाभाविक रूपमा काठमाडौं सर्यो। यस उप्रान्त काठमाडौंको साङ्गीतिक दुनियाँमा यी स्रष्टाहरू कसरी अगाडि बढे?
म र गोपाल जोडिएका थियौं नै। मैले जानेसम्म अम्बर गुरुङले आफ्नै सर्कल बनाउनुभयो, आफ्नै चेलाचपेटा तयार गर्नुभयो। उता, गोपालका पनि चेलाचपेटा बने। अझ भन्नुपर्दा, यस मामिलामा उसलाई कसैले जित्न सकेन। ऊ कलाकारलाई अत्यन्तै माया गर्थ्याे। यति उदार चित्तको कि, कसैलाई परे आर्थिक सहयोग पनि गरिदिने। बुद्ध जस्तो मान्छे। मैले लेखेको पनि छु, यदि गोपाल सङ्गीतकार नभएको भएको, शङ्कै थिएन, ऊ बौद्धमार्गी हुन्थ्यो।
एक पल्ट तपाईंले ‘मीतज्यू नाइट’ बाट उठेको पैसाबाटै नारायणगोपाल पेमलालाई लिन दार्जीलिङ गएको प्रसङ्ग मलाई सुनाउनुभएको थियो। नारायण-पेमलाको विवाह कसरी सम्भव भएको थियो?
कमलादीको कुमार खड्गविक्रम शाहको घर कम्पाउन्ड भएको ठाउँमा चन्द्रवीर पाँडेको घर थियो। त्यहाँ हामी भाडामा बस्थ्यौं। एक दिन थोत्रो-थोत्रो सुटकेश बोकेर नारायण बिहानीपख आइपुग्यो। ऊ अलिकति ‘अफ’ थियो। उसले ‘सोम म पेमलालाई लिन जान लाग्या, अलिकति पैसाको अभाव छ, तर जे भए पनि जानैपर्यो’ भन्यो।
मैले केही अघि ‘मीतज्यू नाइट’ को आयोजना गरेको थिएँ। हार्मोनियम आदि किनिदिएर बचेको पैसा मसँग थियो, २३-२४ हजार जति। नारायणले त्यसमा अलि थप्न पाए राम्रो हुने भन्यो। मैले कृष्णभक्त श्रेष्ठ लगायत साथीभाइबाट सापटी मागेर ६-७ हजार थपिदिएँ। ऊ दुई दिन मकहाँ बस्यो र पैसा बोकेर दार्जीलिङ हिंड्यो। दुर्भाग्य चाहिं, विवाहमा भने म जान पाइनँ।
विवाहलाई घरले स्वीकार नगरेका कारण केही समय काठमाडौं बसेर नारायणगोपाल-पेमलालाई पोखरामा कवि भूपि शेरचनले आश्रय दिएका थिए। त्यो वेला नारायणगोपालको मनोदशा कस्तो थियो?
व्यथित नै थियो ऊ। घरले स्वीकार नगरेपछि बस्ने ठाउँ थिएन। उसको कमाइ पनि त्यति थिएन। पोखरा जानुको मूल कारण पनि त्यही हो।
त्यसैताका नारायणगोपालको स्वरमा आफ्नो गीत रेकर्ड गराउन दुई सङ्गीत महारथी अम्बर गुरुङ र गोपाल योञ्जनबीच प्रतिस्पर्धा झैं देखिन्छ। नारायणगोपालको आफ्नै चाहिं छनोट कस्तो हुन्थ्यो?
गोपाल योञ्जनमा नारायणको गलालाई कुन किसिमको गीत सुहाउँछ भन्ने पहिचान गर्ने क्षमता अद्भुत थियो। नारायणले कस्तो गीतको उच्चतम ‘जस्टिफाई’ गर्न सक्छ भन्ने राम्रो ज्ञान थियो। नारायणको मनोवृत्ति पनि उसले बुझेको थियो।
तर, तपाईं आफ्नै चाहिं गीत लेखन नेपाल आएपछि कम भयो, किन?
दुई जना (गोपाल र नारायणगोपाल) जोडिइसकेपछि मैले आफूलाई यी दुईलाई समन्वय गर्ने ‘फ्याक्टर’ ठानें। गोपालको सङ्गीत र शब्दमा नारायणले जति धेरै गीत गाउँछ नेपाली सुगम सङ्गीत त्यति नै धनी हुन्छ भन्ने मेरो मान्यता थियो। त्यसैले नगेन्द्र भन्ने कुरा त्यहाँ रहेन। मभन्दा धेरै माथिको गीत लेख्ने मानिस हो, गोपाल।
गोपालले मलाई ‘गीत लेख्नुस् न’ भनेर कर गर्दै गर्दा पनि मैले ‘लेखुँला नि, तपाईं हुँदै हुनुहुन्छ, नारायण छँदै छ’ भन्दै टारिरहें। किनकि, त्यो वेला रेडियो नेपालमा गीत रेकर्डिङ गर्न‘ महाभारत थियो, डेट लिनुपर्थ्यो। मेरै गीत गोपालले गरेपछि त उसको पालो कहिल्यै पनि नआउने भयो नि।
विडम्बना नै मान्नुपर्छ, तपाईंको यस्तो सत्प्रयास र सदिच्छाका बावजूद पनि गोपाल र नारायणगोपालको सहकार्य त्यति लामो समय टिकेन, होइन र?
हो, त्यो चाहिं दुर्भाग्य नै भन्नुपर्छ। उनीहरू दुवै जनाले मलाई यति असाध्यै माया गर्थे, मान्थे। नारायण र गोपालले अरू कसैको कुरो नखाए पनि, मैले भनेको कुरा कहिल्यै नाइँ भन्दैनथे। सम्बन्ध चिसिएको जस्तो बाहिर सुनिए पनि दुवै जना मेरो अगाडि भेट हुँदा भने पहिलाकै जस्तो आपसमा भयङ्कर जिस्किने।
व्यवहारमा कति पनि घटबढ थिएन। शायद आफ्नो सम्बन्धको कुरा नगेन्द्रले ‘फिल’ नगरोस् भन्ने उनीहरूको भित्री मनमा हुनुपर्छ। मैले पनि उनीहरूबीच के भयो भन्ने कुरा खोतल्दिनँ भन्ने विचार गरें।
यी दुईका अनन्य मित्र हुनुका कारण सम्बन्धमा दरार आउने खास कुरा केही थियो भन्ने महसूस गर्नुभयो होला नि?
ठ्याक्कै कारण त म पनि भन्न सक्दिनँ। किनकि, मैले खोतल्न कहिल्यै चाहिनँ। मेरो मनले के भन्छ भने, अलिकति ‘इगो’ को कुरा पनि हो, दुवै जनाको। अर्को, श्रीमतीहरूको बानीव्यवहार हेर्दा त्यो (फाटो) को उत्पत्ति त्यहींबाट भएको हुनुपर्छ भन्ने मेरो ठम्याइ छ। यो कुरा मैले रिन्चिन (गोपालकी पत्नी) र पेमला दुवैसँग गरिनँ। किनकि, गरेर फाइदा पनि थिएन।
सम्बन्धकै कुरा गर्दा नारायणगोपालको अम्बर गुरुङ र अम्बर गुरुङको गोपाल योञ्जनसँग कस्तो सम्बन्ध थियो?
नारायणगोपाल र अम्बर गुरुङबीच निकै लामो समयसम्म बोलचाल भएन। ‘मालती मङ्गले’ का लागि माधवप्रसाद घिमिरेले नारायणलाई हात जोडेर ल्याएपछि मात्र यिनीहरू सँगै बसेका हुन्। गोपालसँग त्यस किसिमको चाहिं भएन। अम्बर गुरुङ र गोपालबीच दार्जीलिङमा जति सम्बन्ध थियो, त्यति मात्र हो।
भनिन्छ, नारायणगोपालको ‘टेम्परामेन्ट’ (मनोदशा) पनि समस्याको एउटा कारण थियो। अम्बर गुरुङसँग मात्र होइन, तारादेवीसँग समेत उनको बोलचाल बन्द थियो। उनको झगडा र भनाभन भएका पात्र पनि धेरै भेटिन्छन्।
छ नि त त्यो। ‘टेम्परामेन्ट’ नारायणको ठूलै समस्या हो। उसको ‘टेम्परामेन्ट’ का कारण नै म लिट्टी कसेर बसेको थिएँ। म खासमा नारायणगोपाल र गोपाल योञ्जनबीचको ‘स्यान्डवीच’ थिएँ। मेरो काम यी दुईलाई जोड्ने मात्र थियो।
नारायणगोपालको स्वरमा तपाईंका गीत बजेपछि आम मानिसले तपाईंलाई गीतकारका रूपमा चिने। तर, तपाईंले अपवाद बाहेक अरूका स्वरमा गीत लेख्न चाहनुभएन। कारण के हो?
चल्तीका सङ्गीतकारहरूले गीतका लागि प्रस्ताव गर्दा मैले मानिनँ। मैले उनीहरूलाई गीत लेख्न छाडिसकें भनेर टारिदिएँ। तर, भित्री कुरा चाहिं, नारायणगोपाल र गोपाल योञ्जनसँग यस्तरी भिजेको थिएँ कि त्यसबाट बाहिर उम्किनै सकिनँ। जुन तहमा बसेर म लेख्छु, त्यही तहमा सङ्गीत भरिदिने हुन कि नहुने हुन्, गायकले त्यही ‘फिलिङ’ का साथ गाइदिने हुन् कि होइनन् भन्ने लाग्थ्यो। बरु, थोरै गीत होस् जतिसम्म तन्किन्छ तन्कियोस् भन्ने लागिरहन्थ्यो।
गीत लेखन बाहेक तपाईं संस्थागत रूपमा पनि सक्रिय रहनुभयो। जस्तै, नेपाल फर्केपछि लालीगुराँस कल्चरल ग्रुपको स्थापना।
गोपाल र नारायणलाई एकै ठाउँमा राख्ने र आम्दानीको स्रोत पनि अटुट रहोस् भनेर एउटा संस्था खोल्ने विचार आयो। मेरो बालसखा थिए, चतुर्भुज आशावादी, विलक्षण नाट्यकलाका धनी। असाध्यै मोटा उनी यसरी नाच्थे कि त्यस्तो नाच मैले कतै देखेकै छैन। फूलको थुँगा जस्तो।
उसलाई नाच अनि नारायण र गोपाललाई गीतको जिम्मा दिएर ‘लाइभ सो’ हुने गरी कमलपोखरीमा लालीगुराँस कल्चरल ग्रुप खोल्यौं। केही समय त्यो राम्रै चल्यो। तर, पछि त्यस समूह निम्ति लगानी गरेका अन्नपूर्ण ट्राभल एजेन्सीका नवराजकी पत्नीसँग नारायणको के कुरामा विवाद परेछ, नारायणले ग्रुप नै छाडिदियो।
अनि बागीनाको शुरूआत चाहिं?
गीत गाउने, सङ्गीत दिने मान्छे त थुप्रै भए, यसलाई किन ‘मुभमेन्ट’ का रूपमा नलैजाने भनेर हामीले छलफल गर्यौं। एउटा पत्रिका मार्फत सङ्गीतको संरक्षण, संवर्द्धन र विकास गर्ने कुरा भयो। पत्रिकाको नाम राख्ने विषयमा छलफल हुँदा मैले बागीना भन्ने नाम जुराए, जसको अर्थ बाजा, गीत र नाच हुन्छ।
त्यो शब्द खस्ने बित्तिकै नारायणले त्यसलाई स्विकार्यो। हामीले केही अङ्क चलायौं। तर, साहित्यिक पत्रिका त नचल्ने त्यस समयमा लेख्ने मान्छे पाउन निकै गाह्रो पर्थ्याे। विज्ञापन पाउन त झनै मुश्किल। धन्न रूपरेखाले मद्दत गरेकाले हामीलाई प्रेसको समस्या भने भएन।
नारायणगोपाल-गोपाल योञ्जनको युग जति नै प्राञ्जल भए पनि लामो जान सकेन। सहकार्य त छोटो भयो नै, भौतिक रूपमा पनि उनीहरू चाँडै बिदा भए। अहिले सम्झँदा तपाईंलाई कस्तो लाग्छ?
यसमा म बडो दुःखी छु। नेपाली समाज के हो भन्ने कुरा केटाकेटी भए पनि बुझेको थिएँ मैले। यी दुई जनाबीच म बस्नुको कारण नै यही हो। भाँजो हाल्नेहरू थुप्रै हुन्छन्। पोल हालेर फटाउने थुप्रो हुन्छन् नि ! उनीहरूको भौतिक अनुपस्थिति त झनै सम्झनै सक्दिनँ। आत्मीय साथीहरू हुँदाहुँदै पनि मेरो सम्बन्ध उनीहरूमा मात्रै सीमित नरहेर सम्पूर्ण परिवारसँगै रह्यो। जस्तै, गोपालकी आमा मसँग दुःखसुखको कुरा गर्नुहुन्थ्यो।
उहाँले गोपाल र मेरो फोटो पूजाकोठामा राख्नुभएको थियो। नारायणलाई केही भन्नुपर्यो भने उसका बुबा आशागोपालले मलाई बोलाएर भन्नुहुन्थ्यो, ‘लौन थापाकाजी, नारायणलाई सम्झाइदिनुपर्यो, हामीले भनेको केही मान्दैन।’
मेरो जानकारीमा रहेसम्म गोपाल योञ्जन, अम्बर गुरुङ र जितेन्द्र बर्देवामा गीत लेखन, सङ्गीत (कम्पोजिसन) र गायनको अद्भुत संयोग थियो। गोपाल योञ्जनलाई एक सर्जकका रूपमा यी तीन गुणको कसीमा कहाँ देख्नुहुन्छ?
यी गुणहरू यति मिसिएका छन्, छुट्याउनै गाह्रो छ। गायकी त तेस्रो हो। यदि अम्बरलाई गायक मान्ने हो भने गोपाल पनि गायक हो। कहिलेकाहीं गीतले सङ्गीतलाई जितेको हुन्छ भने कहिले सङ्गीतले गीतलाई। शुरूशुरूमा गोपालको सङ्गीत माथि थियो, पछि खारिंदै गएपछि सन् १९६५-६६ त गोपाल महान् कवि झैं प्रखर हुँदै आयो।
उसको गीतबाट सङ्गीत घटाउँदा पनि गीत आफैंमा पूर्ण देखियो। त्यो कवितात्मक र सङ्गीतपूर्ण रह्यो। सङ्गीतले ‘इन्टेन्सिटी’ थपेको मात्र हो र स्वरले बाहिर प्रकाशमा ल्याएको हो। उसको गीतले आधुनिक नेपाली कविताको समकक्षमा गीतलाई उभ्यायो।
हामी नारायण गोपाललाई सबैभन्दा उच्चकोटिको सुगम सङ्गीतका गायकका रूपमा मान्छौं। उनको स्वर वा कण्ठको गुण वा विशिष्टता के हो?
नारायणगोपालको स्वर सौन्दर्य हो। किनकि, गीतको पहिलो शर्त मिठास हो। उसको स्वर बनावटी र अस्वाभाविक थिएन। उसको स्वरमाथिको पकड भव्य थियो। उसले जहाँ पनि जसरी पनि त्यो स्वर प्रयोग गर्न सक्थ्यो। अम्बर गुरुङ, गोपाल र यहाँका मै हुँ भन्ने गायकले समेत त्यसरी स्वर प्रयोग गर्न सक्दैनथे। म त भन्छु, नारायणको आवाजको रङ सङ्लो पानी झैं थियो, जस्तो रङ दियो त्यसैमा घुल्न सक्ने।
आधुनिक, शास्त्रीय, हर्ष, विस्मात, मिलन, बिछोड जस्तो गीत छ त्यस्तै आवाज दिन सक्ने उसमा अपूर्व गुण थियो। नारायणको ‘रेन्ज’ हार्मोनियम बाहिरको ‘रेन्ज’ हो। हार्मोनियमको ‘अक्टेभ’ ले भेट्दैन, त्यति उच्चतम र ‘बेस’ जान सक्ने स्वर हो।
अर्को चाहिं उसको मौलिकता हो। सङ्गीतकारले कम्पोज गरेपछि नारायणले हुबहु कहिल्यै पनि गाएन। गोपालको सङ्गीतको गीतमा पनि कहाँ गमक, कहाँ मूर्छना, स्वरलाई कहाँ घुमाउँदा अझ सुन्दर हुन्छ भन्ने समझ उसमा थियो। शास्त्रीय सङ्गीत सिकेकाले उसको स्वर अनुशासित लयात्मक थियो।
तपाईं नेपाल फर्किएपछि प्रशासनिक काममा लाग्नुभयो, धेरै संस्थाहरूको उच्च पदमा पुग्नु पनि भयो। तर, तपाईंको काव्यिक उन्नयन भने हुनुपर्ने जति भएन, यसो भन्नु अनुचित त नहोला?
जागीर त खै झुक्किएर खाइयो। कहिल्यै पनि प्रशासनमा जाने इच्छा भएन। अगाडि देखिनेभन्दा पर्दा पनि पछाडि रहेरै काम गर्दा अझ फलदायी हुन्छ भन्ने सोच रह्यो। तर, कहिलेकाहीं एक्लै बस्दा दुई चीजमा अलिकति पछुतो लाग्छ। एउटा गोपालले भनेको र अर्को नारायणले पनि मसँग असाध्यै गीत मागेको वेला गीत नलेखेको। त्यसवेला उमेर पनि थियो, दुई जनाको साथ पाउँदा मैले त मृत्यु पनि बिर्सेको रहेछु।
(हिमालको २०७८ मंसीर अङ्कमा ‘त्यतिवेला मृत्यु पनि बिर्सिएछु’ शीर्षकमा प्रकाशित।)