गुरुराज घिमिरे र उद्धव थापाले दिए प्रदेश सभापतिमा उम्मेदवारी
नेपाली कांग्रेस प्रदेश १ को सभापतिका लागि गुरुराज घिमिरे र उद्धव थापाले उम्मेदवारी दर्ता गराएका छन्।
उनीहरूले शुक्रबार विराटनगरस्थित कांग्रेसको निर्वाचन कार्यालयमा अध्यक्ष पदको मनोनयन दर्ता गराएका हुन्। घिमिरेले वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता शेखर कोइराला पक्षका तर्फबाट तथा थापाले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षका तर्फबाट उम्मेदवारी दिएका छन्।
प्रदेश सभापतिका प्रत्याशी घिमिरे कांग्रेस केन्द्रीय सदस्य हुन्। उनी पौडेल निकट छन्।
त्यस्तै, अर्का प्रत्याशी थापा भने झापाका पूर्व सभापति हुन्। उनी सिटौला निकट नेता हुन्।
उम्मेदवार चयनमा ढिलाइ हुँदा बिहीबार उद्घाटन हुने तय गरिएको अधिवेशन शुक्रबार सारिएको थियो। उद्घाटनसँगै चुनावी प्रक्रिया पनि थालिएको हो। दुवै पक्षले प्यानल सहित उम्मेदवारी दिएका छन्।
प्रदेश अधिवेशनले एक अध्यक्ष, दुई उपाध्यक्ष, दुई महामन्त्री, एक महिला सहित तीन सहमहामन्त्री र सदस्य चयन गर्नेछ।