कांग्रेसको प्रदेश २ मा निर्वाचन कार्यक्रम स्थगित
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रदेश २ को निर्वाचन कार्यक्रम स्थगित गरिएको छ।
कांग्रेसको प्रदेश अधिवेशन बिहीबार उद्घाटन गरिएको थियो। आज प्रतिनिधिको नाम दर्ता सहितको निर्वाचन कार्यक्रम रहेको थियो। तर, एकाएक निर्वाचन समितिले सूचना जारी गरी नाम दर्ता कार्यक्रम स्थगित गरिएको जनाएको छ।
समितिले जारी गरेको सूचनामा भनिएको छ, “नेपाली कांग्रेस प्रदेश २ को प्रथम प्रदेश अधिवेशनमा प्रतिनिधिहरूज्यूको नाम दर्ता कार्य प्राविधिक कारणले २०७८/०८/१७ गते शुक्रबारका दिन स्थगित गरिएको व्यहोरा जानकारी गराउँदछौं।”
चार जिल्लाको वडा तथा क्षेत्रीय अधिवेशनमा विवाद कायमै रहेकाले प्रदेश अधिवेशनको निर्वाचन कार्यक्रम स्थगित गरिएको जनाइएको छ।
महोत्तरी, सर्लाही, बारा र पर्साको मतदाता नामावली आउन नसकेकाले रजिस्ट्रेसन संयोजक विश्वेश्वर यादवले जानकारी दिए।