टंकप्रसाद आचार्य : प्रजातन्त्र बहालीका सूत्रधार
नेपालमा प्रजातन्त्र ल्याउन र अपहरित प्रजातन्त्रलाई पुनर्बहाली गर्न टंकप्रसादको योगदान महत्त्वपूर्ण छ।
‘राणा वर्ग हो! तिमीहरूलाई थाहै होला कि नेपाल प्रजापरिषद् भन्ने संस्था नेपाली प्रजालाई तिमीहरूको क्रूर पञ्जाबाट आजाद वा स्वतन्त्र गराई ... ... आफ्नो देशको गौरव हजारौं वर्षसम्म दिशदिशामा गुञ्जन गराउने उद्देश्यले नेपाल प्रजापरिषद् खुलेको हो।’
यो हस्तलिखित पर्चा विसं १९९७ असारमा काठमाडौंमा छरेर प्रजापरिषद्ले प्रजातान्त्रिक क्रान्तिको बिगुल फुकेको थियो। नेपाली राजनीतिक इतिहासमा राणाशाही विरुद्ध क्रान्तिको उद्घोष गर्ने सो लिखत पहिलो घोषणा बन्न पुग्यो। यो पर्चा आफ्नै हातले लेख्ने व्यक्ति टंकप्रसाद आचार्यको ११०औं जन्मदिन १७ मंसीर अर्थात् आज मनाइँदै छ।
स्वेच्छाचारी जहानियाँ राणाशासन विरुद्ध प्रजातान्त्रिक शासन स्थापनार्थ सङ्घर्ष शुरू गर्ने प्रतिज्ञा सहित गठन गरिएको प्रजा परिषद्का नेता टंकप्रसाद नेपालमा राजनीतिक दल गठन गर्ने जेठा व्यक्ति हुन्। २० जेठ १९९३ मा काठमाडौंको ओमबहालमा टंकप्रसाद आचार्य, दशरथ चन्द, जीवराज शर्मा, रामहरि शर्मा र धर्मभक्त माथेमाले प्रजापरिषद् गठन गरे। पछि त्यसमा गंगालाल श्रेष्ठ, गणेशमान सिंह लगायत धेरै युवा सहभागी भए। गठन भएको चार वर्षमै परिषद्ले राणाशासनको क्रूर दमन झेल्नुपर्यो।
टंकप्रसाद लगायत सबै सक्रिय सदस्य पक्राउ परे भने चार जनालाई त राणा सरकारले गाथगादी ताकेको अपराधमा मृत्युदण्ड नै दियो।
टंकप्रसाद लगायत सबै सक्रिय सदस्य पक्राउ परे भने चार जनालाई त राणा सरकारले गाथगादी ताकेको अपराधमा मृत्युदण्ड नै दियो। नेपाली क्रान्तिको पर्याय बनेको प्रजापरिषद्को सदस्य नभए पनि राणशासन विरुद्ध प्रवचन दिएकै भरमा शुक्रराज शास्त्रीलाई पनि जबर्जस्ती प्रजापरिषद्का सदस्य भएको आरोप लगाउँदै मृत्युदण्ड दिइयो। प्रजापरिषद्को सदस्य भएर राणा विरोधी क्रान्तिमा होमिएका गणेशमान सिंह आफ्नो जीवनको उत्तरार्द्धमा नेपाली कांग्रेसका सर्वमान्य नेता मात्र भएनन्, २०४६ सालको संयुक्त जनआन्दोलनका कमान्डर समेत बने।
प्रजापरिषद्मा संलग्न भए बापत गणेशमानलाई पनि सर्वस्व सहित जन्मकैद भएको थियो। उनी आफूलाई थुनिएको जगन्नाथ देवलको भद्रगोल जेलको अग्लो पर्खाल नाघी भाग्न सफल भए र भारत पुगेर नेपाली राष्ट्रिय कांग्रेसका संस्थापक सदस्य बने। गणेशमान सिंहकै प्रस्तावमा राष्ट्रिय कांग्रेसको अध्यक्षमा जेलमा रहेका टंकप्रसादलाई मनोनयन गरियो। नेपाल राष्ट्रिय कांग्रेस समयक्रममा नेपाली कांग्रेसमा रूपान्तरित भयो।
भारतको मध्यस्थतामा भएको राणा-कांग्रेस सम्झौतापछि २००७ सालको क्रान्ति सफल भएको भन्दै क्रान्ति स्थगन भयो र नेपालबाट राणाशासनको अन्त्य भयो। १९९७ सालमा धर्मभिरु राणाहरूद्वारा ‘ब्राह्मण हत्या’ को पाप लाग्ने त्रासबाट टंकप्रसादलाई भने मृत्युदण्ड दिइएन। उनलाई नेलहत्कडी सहित चारपाटा मुडेर जात च्युत गराइयो। उनी २००७ सालको क्रान्तिको सफलतापछि मात्र जेलमुक्त भए।
राणाशासनको अन्त्यपछि स्थापना भएको बहुदलीय प्रणालीले राणापछि शक्तिशाली बनेका राजाहरूले चुनाव गराई निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न अनिच्छा देखाउँदै संक्रमणकाल लम्ब्याइरहे। तरल राजनीतिक अवस्था र शैशव प्रजातन्त्रले आम चुनावबाट सरकार र संसद् गठन गर्न आठ वर्ष लाग्यो। यस अवधिमा धरै पटक सरकारहरू फेरिए। तर, निरंकुश जहाँनिया शासनबाट बहुदलीय व्यवस्था स्थापना भएको सङ्क्रमणकालपछिको तरल राजनीतिक वातावरणमा प्रजातान्त्रिक व्यवस्थाको स्थायित्वका लागि आवश्यक पर्ने नीतिनियम, ऐन-कानून, योजना लगायत आधार बन्न सकेका थिएनन्।
राणापछि शक्ति प्राप्त गरेका राजाद्वारा समय समयमा विभिन्न नेताको नेतृत्वमा सरकार गठन गर्ने सिलसिलामै १३ माघ २०१२ मा प्रजापरिषद्का नेता टंकप्रसादको नेतृत्वमा मन्त्रिमण्डल गठन भयो। जम्मा १८ महीना सरकार चलाउने अवसर पाएका उनको मन्त्रिमण्डलले प्रजातन्त्रको संस्थागत विकासका धेरै आधार निर्माण गर्यो।
भारतमा अंग्रेजको शासन रहेका वेला तिनकै पृष्ठपोषक रहेको राणाशासन ढलिसकेको अवस्थामा टंकप्रसादकै कार्यकालमा नेपालले आफ्ना निकट दुई छिमेकीसँग सन्तुलित सम्बन्ध विकास गर्यो। स्वतन्त्र भारतका पहिलो राष्ट्रपतिको नेपाल भ्रमण अनि उत्तरी छिमेकी चीनका प्रधानमन्त्रीको नेपाल भ्रमण तथा चीनसँगको मैत्रीसन्धि टंकप्रसादकै पालामा भएका महत्त्वपूर्ण काम थिए। साथै, बाह्य जगत्मा स्वतन्त्र र प्रजातान्त्रिक मुलुकका रूपमा नेपालको पहुँच बढाउने दिशामा पनि उल्लेख्य काम भयो।
उनकै पालामा नेपालले पहिलो पटक परराष्ट्र मन्त्रीको नेतृत्वमा संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन पायो। रुस, जापान, स्वीट्जरल्यान्ड, श्रीलंका, इजिप्ट र पाकिस्तानसँग दौत्य सम्बन्ध स्थापना गर्ने आधार तयार गरियो।
स्वतन्त्र भारतका पहिलो राष्ट्रपतिको नेपाल भ्रमण अनि उत्तरी छिमेकी चीनका प्रधानमन्त्रीको नेपाल भ्रमण तथा चीनसँगको मैत्रीसन्धि टंकप्रसादकै पालामा भएका महत्त्वपूर्ण काम थिए।
देशभित्रै पनि पजनी प्रथाद्वारा कर्मचारी नियुक्त गर्ने परिपाटीलाई निजामती ऐनद्वारा व्यवस्थित गरियो। आजको निजामती ऐनको आधार नै टंकप्रसादको पालामा बनेको तथा कार्यान्वयन भएको निजामती ऐन हो। त्यस बाहेक आर्थिक र मौद्रिक प्रणालीलाई व्यवस्थित गर्न नेपाल राष्ट्र ब्यांकको स्थापना गरियो। देशको योजनाबद्ध विकासलाई व्यवस्थित गर्न योजना मन्त्रालय र योजना आयोगको स्थापना भयो। सबै नागरिकको समान अधिकार स्थापित गर्ने प्रारम्भिक कार्यका रूपमा मुलुकी ऐनको संशोधन गरियो।
त्यस्तै, उनको पालामा बुद्धको जन्मभूमि नेपाललाई विश्वमै परिचित गराउने उद्देश्यले नेपालमा बौद्ध सम्मेलनको आयोजना गरिएको थियो। यसरी प्रजातान्त्रिक प्रणालीको सञ्चालनका अवयवहरूको निर्माण हुँदै गर्दाको अवस्थामा गठित टंकप्रसाद नेतृत्वको सरकार १३ असार २०१४ मा विघटन गरियो।
राजा महेन्द्रले टंकप्रसादको सरकार विघटन गर्नुपूर्व नै नेपालको विकासमा प्रमुख बाधक सामन्तवाद रहेको र यसको आधार भूमिमाथिको स्वामित्व भएको उनले बुझेका थिए। त्यसैले भूमि स्वामित्व प्रणालीलाई फेर्नुपर्छ भन्ने टंकप्रसाद भूमिसुधारको क्षेत्रमा काम गर्न चाहन्थे। देश विकासका लागि समाजवाद अपरिहार्य छ भन्ने उनलाई राम्रै हेक्का थियो।
२५ असाेज २००६ मा भएको बन्दीगृहको कालकोठरीबाट भाइ श्याम भनी सम्बोधन गरिएको पत्रमा उनले लेखेका थिए- हाम्रो समाजले पूर्ण समाजवादी क्रान्तिमा प्रवेश गर्न कुनै गाह्रो छैन। केवल राणालाई राजनीतिबाट हटाउन बेर छ। हाम्रो देशको राजनीतिक, सामाजिक र आर्थिक स्थितिको मागको बीचमा बिल्कुलै फाटो पर्दै आएको छ। समाज नयाँ युगको माग अनुसार नयाँ आर्थिक स्थिति चाहन्छ।
त्यही वर्षको ६ कात्तिकमा उनै श्यामलाई लेखेको पत्रमा टंकप्रसादले ‘हामीलाई यो विश्वास छ कि योग्य नेतृत्व पाएको खण्डमा हाम्रो नेपाली समाजले समाजवादी आन्दोलनमा पूर्ण रूपले भाग लिन सक्नेछ’ (नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजापरिषद्को भूमिका, डा. राजेश गौतम, पृ. ५३, ५७) भनेका छन्।
टंकप्रसाद आचार्य राष्ट्रवादी एवं समाजवादी विचारधाराका व्यक्ति भएकाले जनताको प्रतिनिधित्व राजनीतिक दलहरूबाट हुनेमा विश्वास गर्थे। १९९७ सालको प्रजापरिषद्माथिको दमनपछि भारतमा गठित राष्ट्रिय कांग्रेसको नेपालमा आएको फुट र भेदभावबाट क्षुब्ध बनेका टंकप्रसादले २५ मंसीर २००६ मा विश्वेश्वरप्रसाद कोइरालालाई पत्र लेखी आन्दोलनकारीका बीचमा फाटो होइन एकता हुनुपर्ने औंल्याउँदै ‘ठीक बाटो समाउँदै संयुक्त मोर्चा बनाउन एक पटक फेरि प्रयत्न गर्न र नागरिक हक प्राप्त गर्न आन्दोलन गर्न’ आग्रह गरेका थिए (ऐ ऐ, पृ. ५०)।
२०१७ सालमा राजा महेन्द्रबाट संसदीय व्यवस्था विघटन गरी पञ्चायती व्यवस्था शुरू गरेपछि राजनीतिक रूपमा निष्क्रिय जस्ता देखिए पनि उनले पञ्चायती व्यवस्थालाई कहिल्यै समर्थन गरेनन्। जेम्स एस फिसरले उनको जीवनी लेखेका थिए।
पुस्तकका लेखक फिसरसँग कुराकानी गर्दै टंकप्रसादले भनेका छन्, “मैले पञ्चायती व्यवस्थालाई कहिल्यै समर्थन गरिनँ। २०१७ साललगत्तै पछि मैले राजा महेन्द्रलाई आफूले सीमित अवधिका लागि मात्र उनको प्रत्यक्ष शासनलाई समर्थन गर्न सक्ने, अनिश्चित कालसम्मलाई होइन भनिदिएको थिएँ। राजाले मेरो कुरा मानेनन्। मैले राष्ट्रिय निर्देशन परिषद्बाट राजीनामा दिएँ। पञ्चायती व्यवस्था सामन्ती ठालूहरूको संगठन हो” (ज्युँदा शहीदहरू, पृ. १९७)।
पञ्चायतकालमा यस्तो साहसिक अभिव्यक्ति दिने विरलै नेतामा एक थिए, टंकप्रसाद। पञ्चायतलाई समान्तहरूको राजनीतिक व्यवस्था भन्ने टंकप्रसादले पञ्चायती व्यवस्था विरुद्धका राजनीतिक गतिविधिलाई भने सहयोग र समर्थन गरी नै राखे। यद्यपि, नेपालको राजनीतिक मामिलामा बाह्य हस्तक्षेप र प्रभावको भने उनी विरोधी थिए।
पञ्चायत इतर राजनीतिक र सामाजिक गतिविधिलाई सहयोग र समर्थन गर्ने टंकप्रसादको घरआँगन ३० र ४० को दशकमा वाक् स्वतन्त्रता र पेशागत अधिकार अनि राजबन्दीको रिहाइका लागि गरिने गतिविधिको प्रमुख थलो बन्ने गरेको थियो। उनी सदा राष्ट्रिय शक्तिहरूबाटै प्रजातन्त्रको स्थापना र विकास हुनुपर्छ भन्ने मान्यता राख्थे। उनले वेलावेला कांग्रेस र वामपन्थीलाई एकताबद्ध हुन घचघच्याइरहन्थे।
यसै क्रममा २०४४ सालमा मानव अधिकार दिवसको अवसरमा टंकप्रसादको निवासमा तत्कालीन नेकपा (माले)को सक्रियतामा गठन भएका संस्थाहरू मानव अधिकार संरक्षण मञ्च, प्रजातान्त्रिक राष्ट्रिय एकता मञ्च र राजबन्दी रिहाइ समितिको संयुक्त पहलमा एउटा कार्यक्रम भएको थियो। त्यो कार्यक्रममा नेपाली कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंह, सभापति कृष्णप्रसाद भट्टराई एवं कम्युनिष्ट घटकका नेताहरू मनमोहन अधिकारी, विष्णुबहादुर मानन्धर, कृष्णराज वर्मा, साहना प्रधान, नीलाम्बर आचार्य लगायत उदारवादी पञ्चको छवि भएका सूर्यबहादुर थापाको उपस्थिति थियो।
साथै, कार्यक्रममा शिक्षक, विद्यार्थी तथा पत्रकारको पनि बाक्लै उपस्थिति थियो। विश्व मानव अधिकार दिवसको अवसरमा आयोजित त्यो ऐतिहासिक कार्यक्रम बन्न पुग्यो। भेला भएका नेतृत्व गणले विभिन्न जेलमा बन्दी बनाइएका सबै पञ्चायत इतर राजबन्दीको रिहाइका लागि अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो।
भेलापछि गणेशमान, मनमोहन र टंकप्रसादबीच कांग्रेस तथा वामपन्थीबीच पञ्चायत विरोधी आन्दोलन अघि बढाउने न्यूनतम समझदारी र सहकार्य हुनुपर्ने कुरा उठेको थियो। टंकप्रसादले पञ्चायतको अन्त्य बृहत् एकता विना सम्भव नभएको बताउँदै गणेशमानलाई सबै राजनीतिक शक्तिलाई एकताबद्ध गर्न सक्रिय भएर लाग्न अनुरोध गरेका थिए।
यो पङ्क्तिकार सो वार्तालापका वेला तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय एकता मञ्चको महासचिव र कार्यक्रमको आयोजकको हैसियतमा त्यहाँ उपस्थित थियो। २०४६ सालको संयुक्त जनआन्दोलन ताका निर्माण भएको वाममोर्चा र वाम-कांग्रेस एकताको सूत्रपात त्यही भेलाको प्रतिफल थियो।
अहिले हामीले उपभोग गरेको स्वतन्त्रताको आधार नै २०४६ सालको संयुक्त जनआन्दोलनबाट प्राप्त बहुदलीय प्रजातन्त्रले निर्माण गरेको हो। तसर्थ, नेपालमा प्रजातन्त्र ल्याउन र अपहरित प्रजातन्त्रलाई पुनर्बहाली गर्न टंकप्रसादको योगदान छ। नेपालका कैयौं राजनीतिक योद्धामध्ये टंकप्रसाद एक हुन् र उनको स्मरण स्तुत्य नै छ।