प्रदेश २ सभापतिमा चार आकांक्षी
नेपाली कांग्रेस प्रदेश २ को सभापतिमा केन्द्रीय उपसभापति विमलेन्द्र निधि पक्षका चार नेताले दाबेदारी प्रस्तुत गरेका छन्।
प्रदेश–२ को संसदीय दलका नेता समेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले ६ मंसीरमा उम्मेदवारी घोषणा गरिसकेका छन्।
त्यस्तै, महोत्तरीका जिल्ला सभापति महेन्द्रकुमार रायले पनि उम्मेदवारी घोषणा गरिसकेका छन्। सप्तरीका जिल्ला सभापति महेन्द्रकुमार राय र रौतहटका सभापति कृष्ण यादव समेत प्रदेश–२ को नेतृत्व लिन आकाङ्क्षी देखिएका छन्। चारै जना नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि नजिकका नेता मानिन्छन्।
प्रदेश–२ मा अधिकांश नेता प्रदेश सभापतिका लागि सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने पक्षमा छन्।उनीहरूले कांग्रेसको पहिलो प्रदेश महाधिवेशन भएको कारणले सर्वसम्मत नेतृत्व चयन भए बलियो सन्देश जाने र यसले पार्टीलाई बलियो बनाउने बताउँदै आएका छन्। तर, पार्टीमा सर्वसम्मतिको सम्भावना कमै देखिएको छ।
प्रदेश बलियो बनाउन कांग्रेसलाई बहुमतः निधि
प्रदेश सभापतिमा चार जना उम्मेदवार नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले बलियो संघीयता र कानून अनुसार, प्रदेशलाई अधिकार दिलाउन आफ्नो पार्टीलाई बहुमत दिलाउन आग्रह गरेका छन्।
कांग्रेसले मात्रै संघीयताको कार्यान्वयन गर्ने भएकाले आगामी निर्वाचनमा बहुमत दिन आग्रह गरेका हुन्। प्रदेश–२ को नेपाली कांग्रेसको महाधिवेशनमा बोल्दै निधिले कांग्रेसले मात्रै स्थानीय तहदेखि संघसम्मको नेतृत्व सही तरीकाले गर्ने बताए। उनले भने, “कम्युनिष्ट वा नाम मात्रका मधेश केन्द्रित दलले संविधानको कार्यान्वयन गराउन सक्दैनन्।”
निधिले आगामी निर्वाचनमा कांग्रेसले कसैसँग गठबन्धन नगर्ने पनि बताएका छन्। उनले भने, “अहिलेदेखि तयारी गरे नेपाली कांग्रेसले स्थानीयदेखि प्रदेश र केन्द्रसम्म एकल बहुमतको सरकार बनाउँछ।”
कार्यक्रममा नेपाली कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादवले जनताको अधिकारको एक मात्र सारथि, आशा र भरोसा कांग्रेस भएको बताइन्।