प्रदेश १ को सभापतिमा गुरुराज घिमिरे र उद्धव थापा भिड्ने
प्रदेश १ को सभापतिका लागि नेपाली कांग्रेसका दुवै पक्षले उम्मेदवारको टुङ्गो लगाएका छन्।
प्रदेश अधिवेशन प्रारम्भ भएसँगै बिहीबार बसेका दुवै पक्षका नेताहरूको छुट्टाछुट्टै बैठकले उम्मेदवारको टुङ्गो लगाएका छन्। अब प्रदेश सभापतिमा संस्थापन पक्षबाट उद्धव थापा र संस्थापन इतर पक्षबाट गुरुराज घिमिरे उम्मेदवार बन्ने भएका छन्।
सभापतिको उम्मेदवार बन्न लागेका थापा कांग्रेस पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षका हुन्। उनलाई कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्षको पनि समर्थन छ। थापा कांग्रेस झापाका पूर्व सभापति हुन्।
त्यस्तै, केन्द्रीय सदस्य घिमिरे वरिष्ठ नेता रामचन्द्र पौडल पक्षका हुन्। उनलाई महामन्त्री शशांक कोइराला र केन्द्रीय सदस्य शेखर कोइराला पक्षको समर्थन छ।
प्रदेश १ को कांग्रेस अधिवेशन विराटनगरमा हुँदै छ। बिहीबार हुने तय गरिएको भए पनि नेतृत्व चयनमा ढिलाइ हुँदा शुक्रबारका लागि सारिएको छ।
प्रदेश १ मा दुवै पक्ष हाराहारीमा देखिएका छन्। १४ जिल्लामा देउवा पक्षले सात र पौडेल पक्षले ६ वटा जिल्ला सभापति जितेका छन्। त्यस्तै, सिटौला पक्षका एक जना जिल्ला सभापतिमा निर्वाचित भएका छन्।
देउवा पक्षका जिल्ला सभापति:
गजेन्द्र तुम्याहाङ : ताप्लेजुङ
रूपनारायण जवेगू : पाँचथर
तेजेन्द्र खनाल : ओखलढुंगा
डम्बर खड्का : इलाम,
हिमाल कार्की : उदयपुर
दिनेश राई : धनकुटा
नाम्गेल जाङ्बु शेर्पा : सोलुखुम्बु
पौडेल पक्षका जिल्ला सभापति
दीपक खड्का : संखुवासभा
विनोद वान्तवा : भोजपुर
विष्णुकुमार राई : खोटाङ
अर्जुन तुम्बाहाम्फे : तेह्रथुम
डिगबहादुर लिम्बू : मोरङ
केदार भण्डारी : सुनसरी
सिटौला पक्षका जिल्ला सभापति
देउमान थेवे : झापा