प्रदेश १ को कांग्रेस सभापतिमा पाँच जनाको दाबी
नेपाली कांग्रेस प्रदेश १ को सभापतिका लागि पाँच जना आकाङ्क्षी देखिएका छन्।
आजदेखि शुरू हुन लागेको प्रदेश अधिवेशनमा संस्थापन पक्षबाट तीन जना र संस्थापन इतर पक्षबाट दुई जना आकाङ्क्षी देखिएका हुन्। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्ष एक ठाउँमा उभिएका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइराला पक्ष अर्कातिर छन्।
देउवा-सिटौला पक्षबाट उद्धव थापा, तारामान गुरुङ र अमृत अर्यालले प्रदेश सभापतिमा उठ्ने बताएका छन्। त्यस्तै, पौडेल-कोइराला पक्षबाट राजीव कोइराला र गुरुराज घिमिरेले उम्मेदवारीको दाबी गरेका छन्।
पौडेल-कोइराला समूहबाट आज आधिकारिक उम्मेदवारको टुङ्गो लगाइने सो समूहका नेता सुवासकुमार पोखरेलले बताए।
त्यस्तै, प्रदेश १ को सभापतिमा देउवा पक्षले सिटौला पक्षका थापालाई सहयोग गर्न सक्ने सिटौला पक्षका नेता भूपेन्द्र राईकाे भनाइ छ।
कांग्रेसले प्रदेशमा सभापतिसँगै दुई उपसभापति, दुई महामन्त्री र एक महिला सहित तीन सहमहामन्त्री रहने व्यवस्था गरेको छ। सबै पदमा प्रतिस्पर्धा हुने देखिएको छ।