लुम्बिनीको कांग्रेस सभापतिमा भरतकुमार शाह र अमरसिंह पुनको प्रतिस्पर्धा
नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सभापतिमा भरतकुमार शाह र अमरसिंह पुन प्रतिस्पर्धामा उत्रिएका छन्।
कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज प्रदेश अधिवेशन हुन लागेको छ। जसमा प्रदेश सभापतिका लाग संस्थापन पक्षबाट शाह र संस्थापन इतर पक्षबाट पुन उम्मेदवार बन्न लागेका हुन्।
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्षका शाहले पत्रकार सम्मेलन गरी प्रदेश सभापतिमा उम्मेदवार बन्ने घोषणा गरेका छन्।
त्यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेल तथा महामन्त्री शशांक कोइराला पक्षबाट उम्मेदवार बन्न लागेका पुनले आज उम्मेदवारी घोषणा गर्दै छन्। त्यसका लागि उनले आज दिउँसो पत्रकार सम्मेलन गर्न लागेको जनाएका छन्।
लुम्बिनी प्रदेशको संस्थापन पक्ष कमजोर देखिएको छ। प्रदेशका १२ जिल्लामध्ये बाँकेमा अधिवेशन हुन बाँकी छ। अधिवेशन भएका ११ जिल्लामध्ये दुईमा मात्रै संस्थापन पक्षले जितेको छ। रुपन्देहीमा रामकृष्ण खाँण र बर्दियामा अरुणसिंह राठौर देउवा पक्षका जिल्ला सभापति हुन्।
अन्य नौ जिल्लामा पौडेल-कोइराला पक्षकै दबदबा छ। कपिलवस्तुमा अब्दुल कलाम खाँ, दाङमा शंकर डाँगी, प्युठानमा विष्णुकुमार गिरी, अर्घाखाँचीमा केशव श्रेष्ठ, रोल्पामा किशोर आचार्य, रुकुम पूर्वमा केशरमान रोका, नवलपरासी पश्चिममा अर्जुनकुमार पोखरेल, पाल्पामा हिमालदत्त श्रेष्ठ र गुल्मीमा खिलध्वज पन्थी सभापतिमा निर्वाचित भएका छन्।
लामो समय पार्टीमा काम गरेको र पटक पटक सांसद भएकाले पनि आफूले प्रदेश सभापति पद जित्नेमा विश्वस्त रहेको शाहले बताए। “चार दशकदेखि पार्टीमा सक्रिय छु। तीन पटक जितेको सांसद हुँ,” शाहले भने, “प्रदेशको पूर्व-पश्चिममा मेरो राम्रै नेटवर्क छ। सभापति जित्नेमा ढुक्क छु।” पार्टीलाई सशक्त बनाएर आगामी निर्वाचनमा जिताउने आफ्नो मुख्य अजेन्डा रहेको शाहले बताए।
प्रदेशका धेरै जिल्लामा संस्थापन इतर पक्षले जितेकाले पनि पुनले प्रदेश सभापति जित्ने आशा गरेका छन्। पुनले भने, “जिल्ला अधिवेशनबाट निर्वाचित प्रदेशका नौ जना सभापति मेरो समर्थनमा हुनुहुन्छ।”