कांग्रेस कर्णालीको सभापतिमा ललितजंग शाही र भूपेन्द्रजंग शाही भिड्दै
नेपाली कांग्रेस कर्णालीको प्रदेश सभापतिमा ललितजंग शाही र भूपेन्द्रजंग शाही भिड्न लागेका छन्।
कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज सातै प्रदेशमा प्रदेश अधिवेशन हुन लागेको छ। तीन दिनसम्म चल्ने प्रदेश अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।
सबै प्रदेशमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष भिड्न लागेका छन्। प्रदेश अधिवेशनमा देउवा पक्षमा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्ष पनि देखिएको छ भने पौडेल पक्षमा महामन्त्री शशांक कोइराला र केन्द्रीय शेखर कोइराला पक्ष छन्।
कर्णालीमा दुवै पक्षले प्रदेश सभापतिमा उम्मेदवार बनाउने तयारी गरेका छन्। देउवा पक्षबाट ललित प्रदेश सभापतिका उम्मेदवार बन्न लागेका हुन्। उनी संविधानसभा सदस्य हुन्। गत निर्वाचनमा जुम्लाबाट प्रतिनिधि सभाका उम्मेदवार बनेका थिए।
त्यस्तै, पौडेल-कोइराला पक्षबाट भूपेन्द्र प्रदेश सभापतिका उम्मेदवार बन्न लागेका छन्। उनी संविधानसभा र प्रतिनिधि सभा निर्वाचनमा कालिकोटबाट उम्मेदवार बनेका थिए। अहिले नेपाल तरुण दलका महामन्त्री हुन्।