जो जहाँ छ त्यहींबाट मतदाता नामावली दर्ता गर्न पाइने
निर्वाचन आयोगले १७ मंसीरबाट मतदाता नामावली विशेष अभियान सञ्चालन गर्दै छ।
मतदाता नामावलीमा जो जहाँ छ त्यहींबाट नाम दर्ता गर्न पाइने निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले बताए।
निर्वाचन पर्यवेक्षण समितिद्वारा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले भने, “आयोगले जो जहाँ छ त्यहींबाट मतदाता नामावली सङ्कलन गर्छ।”
त्यसरी सङ्कलित नाम सम्बन्धित पालिका र वडामा पठाइने थपलियाले जानकारी दिए। यसअघि नाम दर्ता भइसकेकाहरूले भने पुनः नाम लेखाउनु पर्दैन।
फरक प्रसङ्गमा थपलियाले ५ जेठ २०७९ अगावै स्थानीय तहको चुनाव भइसक्नुपर्नेमा जोड दिए। उनले भने, “आउँदो ६ जेठपछि स्थानीय तहका जनप्रतिनिधिको पद रिक्त हुने भएकाले त्यस अगावै चुनाव गर्नुपर्छ भनेर आयोगले तयारी गरेको छ।”
प्रमुख आयुक्त थपलियाले आयोग राष्ट्रिय सभा निर्वाचन र प्रतिनिधि सभाको उपनिर्वाचनका लागि तयार भएर बसेको बताए। उपनिर्वाचन घोषणा भए कुनै पनि वेला गर्न सक्ने गरी तयारी अवस्थामा बसेको उनको भनाइ छ। उपनिर्वाचनका लागि २२ स्थान रिक्त छन्।