स्टार्टअप बढाउन राज्य–निजी क्षेत्र सहकार्य जरुरीः वरिष्ठ उपाध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले दक्षिणएशियामा स्टार्टअप व्यवसायलाई बढावा दिन राज्य र निजी क्षेत्रबीच बलियो सहकार्यको जरुरी भएको बताएका छन्।
बुधबार अन्तर्राष्ट्रिय श्रम सङ्गठनद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै ढकालले दक्षिणएशियामा स्टार्टअप व्यवसायले धेरै समस्या झेल्नुपरेको बताउँदै सहजीकरणका लागि राज्य र निजी क्षेत्रबीच बलियो सहकार्यको जरुरी रहेको बताएका हुन्।
उनले उदाउँदो अर्थतन्त्र भएका मुलुक भएको कारण दक्षिणएशियामा स्टार्टअप व्यवसाय वृद्धिको ठूलो सम्भावना भएको बताए। “प्रविधि र व्यवसाय गर्ने नयाँ तरीकाका बारेमा राम्रो ज्ञान भएका युवाका लागि स्टार्टअपको अथाह सम्भावना छ,” उनले भने।
निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासंघले नवप्रवर्तन व्यवसायीका लागि सहजीकरण गरेको बताउँदै ढकालले विशेषगरी महिला र युवालाई महासंघले सहयोग गरेको बताए।
स्टार्टअप तथा नवप्रवर्तन समिति मार्फत सरकारसँगको सहकार्यमा स्टार्टअप नीति बनाउने काम पनि महासंघले गरिरहेको ढकालले जानकारी दिए। सहयोग तथा सहजीकरणका लागि सात प्रदेशमा सरकारसँग मिलेर 'इन्क्यूबेटर सेन्टर' स्थापना गर्न गइरहेको ढकालले बताए।