शहरैनेर छोटो ‘हाइक’ (फोटो फिचर)
उपत्यका आसपासका धेरै ‘हाइकिङ-ट्रेल’ मध्ये एउटा हो– रानीकोट-लाकुरीभञ्ज्याङ। मोटामोटी आठ किलोमिटरको यो बाटोमा हिमशृङ्खला नियाल्दै, सल्लाका बोटहरूको मुन्तिरबाट रङ्गीबिरङ्गी फूल हेर्दै एवं चराको चिरबिर सुन्दै हिंड्न सकिन्छ।
शहरमा चिसो बढिरहेको छ। चिकित्सकहरूको सल्लाह हुने गरेको छ– जाडोमा शहरको प्रदूषणबाट बच्नु तर शारीरिक व्यायाम र हिंड्डुल गर्न नछोड्नु। यस्तोमा काठमाडौं शहर नजिकैका डाँडाकाँडाहरूमा हिंड्डुल आन्तरिक पर्यटन मात्र होइन, शरीरका आन्तरिक पाटपुर्जाका लागि पनि राम्रो हुन सक्छ। हरेक दिन यी डाँडामा पुग्न नसकिएला, तर मौका मिलेको वेला पुगियो भने ज्यानले धन्यवाद नै देला।
उपत्यका आसपासका धेरै ‘हाइकिङ-ट्रेल’ मध्ये एउटा हो– रानीकोट-लाकुरीभञ्ज्याङ। यसै साता यो बाटोमा हिंडेपछि यो मेरो सिफारिस-सूचीमा समावेश भयो।
गन्तव्यमा पुग्ने हतारोमा हामी कवि रोबर्ट फ्रस्टले भने जस्तो ‘डार्क, डिप एन्ड लभ्ली’ रूख, हिमाल र पर्वतहरूलाई देख्न बिर्सन्छौं। बाटोको छेउमा हाँसिरहेका स-साना फूलहरूलाई अनदेखा गरिदिन्छौं। आफ्नो लक्ष्यमा पुग्ने जोशमा प्रकृतिको सुन्दरता छुट्छ।
ट्रेक र हाइकमा भने यी कुरामा आनन्द लिन पाइन्छ। किनभने; यसको उद्देश्य नै वरपर हेर्दै, आफूलाई प्रकृतिका बीच पोख्दै हिंड्ने हो। त्यसमाथि उचाइकाे बाटाेबाट शहर र हिमाल एकैसाथ हेर्नुको आनन्द नै बेग्लै।
मोटामोटी आठ किलोमिटर (आउन-जान)को यो बाटोमा हिमशृङ्खला नियाल्दै, सल्लाका बोटहरूको मुन्तिरबाट रङ्गीबिरङ्गी फूल हेर्दै, चराको चिरबिर सुन्दै हिंड्न सकिन्छ। आकाश खुलेको वेला रानीकोटबाट भक्तपुर र लाकुरीभञ्ज्याङबाट ललितपुर र काठमाडौं शहर देख्न सकिन्छ। सूर्यविनायकबाट उकालो लागेपछि लगभग चार किलोमिटरमा रानीकोट (घ्याम्पेडाँडाभन्दा माथि) आइपुग्छ। काभ्रे र भक्तपुरको सीमामा पर्ने यो भञ्ज्याङमा अहिले केही होटल र रिसोर्टहरू खुलेका छन्। यहाँ नै पनि छोटो दूरी हिंड्न चाहनेका लागि बाघभैरव मन्दिर जाने र मन्दिरमाथिको ढिस्कोमा पुग्ने बाटाहरू छन्। सिंढीका बाटा पनि छन्।
उकालो-ओरालो हिंड्न स्वाद मान्नेलाई मानेभञ्ज्याङतिर झर्ने बाटोले पनि आकर्षित गर्न सक्छ। पहाडका भिराला गराहरूमा अहिले पहेंलै फूलेको तोरीले पनि आनन्द दिन सक्छ। प्रात: भ्रमणका ‘अम्मली’ का लागि यो बाटो गजब छ। नेपालले वरदानमा प्राप्त गरेको सुन्दर प्रकृतिको आनन्द उठाउँदै, शरीरलाई पनि फाइदा पुग्ने यस्ता छोटा ‘हाइक’ हरू वेलावेला गरिरहनुपर्ने रहेछ।
यी तस्वीहरू कुनै लाकुरीभञ्ज्याङतर्फको बाटाका हुन् भने कुनै मानेभञ्ज्याङतर्फका। ‘स्मार्ट फोन’ का लागि ‘वालपेपर’ बन्ने फोटोहरू बाटोमा प्रशस्त खिच्न पाइन्छ। तपाईं हिमालप्रेमी भए, हिमालका। शहरप्रेमी भए शहरको १८० डिग्रीका। फूल, पात र जङ्गलप्रेमी भए त झन् कुरै भएन।