बाजुराको कहर
-मीना शर्मा
झ्ट्ट हेर्दा हजुरआमा जस्तै लाग्ने बाँधु गाविस–१ बाजुराकी मेगा तिरुवालाई काखमा खेलाउँदै गरेको दूधे बालक नातिनी हो कि भनेर सोध्ने हो भने अनुमान गलत हुन्छ। १४ वर्ष पुग्दा आमा बनेकी ४२ वर्षीया उनको काखमा अहिले गत वर्ष जन्मेको १३औं सन्तान छ। उनको पहिलो सन्तान (छोरी) २८ वर्ष पुगिन्। जेठी नातिनी नै ११ वर्षकी भइन्। छोराका लागि धेरै सन्तान जन्माउनु परेको बताउने उनी भन्छिन्, “छोरी जति जन्मिए पनि पोईली घर जान्या हुन्, धेरै भ'र के भो र!”
छोराको चाहनामा यतिका सन्तान जन्माएकी उनले चार सन्तान गुमाइन्, जसलाई उनी भाग्यको खेल ठान्छिन्। १३ छोराछोरी जन्माउँदासम्म अस्पताल नपुगेकी मेगा जननेन्द्रियबाट सेतो पानी बग्न थालेपछि भने स्वास्थ्य संस्था धाउन थालेकी छन्। उनले तल्लो पेट पनि साहै्र दुख्ने गरेको बताइन्।
विश्व स्वास्थ्य संघ (डब्लूएचओ) ले गर्भधारणका लागि २५–३५ वर्षलाई उत्तम उमेर मानेको छ। डब्लूएचओका अनुसार, ३५ वर्षपछि गर्भधारण गर्दा जुम्ल्याहा जन्मिन सक्ने, शारीरिक वा मानसिक अपाङ्गता भएको शिशु जन्मिन सक्ने, आमा तथा शिशुको ज्यान खतरामा पर्ने हुन्छ। यो अवस्थालाई हेर्दा, बाजुरामा मेगा तिरुवाहरू खतरासँग खेलिरहेका छन्, अज्ञानता र सामाजिक दबाबका कारण।
झारफुकको भर
गोत्री गाविस–८ की छम्म लुवार (४५) र उनको पाँच महीनाको बच्चा कुपोषणग्रस्त छन्। ४५ वर्षको उमेरमा ११औं सन्तान जन्माएकी छम्मले चार छोराछोरी बचाउन सकिनन्। तिनलाई कुपोषण भएको उनलाई थाहा छैन। “सारै दुब्ला थिए”, छम्म भन्छिन्, “झ्ारफुक गर्दागर्दै सबै बिते।”
१४ वर्षमा बिहे गरेर १५ वर्षमा आमा बनेकी उनले नियमित गर्भ परीक्षण गर्न अस्पताल जानुपर्छ भन्ने जानकारी पनि पाइनन्। दशौं पटकको सुत्केरी बेथा ज्यादै गाह्रो भएपछि जीवनमा पहिलो चोटि अस्पताल पुगेकी उनले त्यही बेला हो परिवार नियोजनको कुरा सुनेको पनि। स्वास्थ्यकर्र्मीहरूले उनलाई गर्भवती हुँदा नियमित जाँच गराउनुपर्ने, ३५ वर्षपछि सन्तान जन्माउँदा आमा र बच्चा दुवैलाई कुपोषण हुने पनि सुनाए। “गाउँमा यस्ता कुरा थाहै नाइ”, छम्म भन्छिन्, “सबैका घरमा धेरै जन्माया छन्।”
गत असोजमा १३औं सन्तान जन्माएकी साप्पाटाकी ४२ वर्षीय आबर्मा बुढा अहिले बच्चासहित कुपोषणको शिकार बनेकी छन्। उनका चार सन्तानको मृत्यु भइसकेको छ। १५ वर्षमै बिहे भएकी उनका दुई सन्तान त गर्भमै खेर गए। तीन सन्तान चाहिं घाँसदाउरा लिन गएको बेला जंगलमै जन्मिएको उनी बताउँछिन्। १३औं जन्माउँदा भने उनलाई समस्या आयो र पहिलो पटक साप्पाटा स्वास्थ्य चौकी पुर्याइएको थियो। त्यहाँ उपचार हुन नसकेपछि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र पुर्याएकी उनको ज्यान त जोगियो तर समस्या भने ज्यूँकात्यूँ छ। “तल्लो पेट दुख्छ, रिंगटा लाग्छ, मरिहाल्छु कि जस्तो हुन्छ” उनी भन्छिन्।
४१ वर्षको उमेरमा १०औ सन्तान जन्माएकी जगन्नाथ गाविस–४ की कुशुकला सार्की र उनको नवजात शिशु दुवैले कुपोषणको सामना गरिरहेका छन्। निकै वृद्धा जस्तो देखिने कुशुकला पाँच वर्षदेखि सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, महीनावारी गडबड हुने लगायतका समस्या भोग्दै आएको बताउँछिन्। उनी अहिलेसम्म अस्पताल गएकी छैनन्। “जडीबुटी खायाकी छु, धामीझाँक्री लायाकी छु”, कुशुकला भन्छिन्, “निको भइहाल्ला भनेका छन्।”
सम्झाउनै गाह्रो
उत्तरी बाजुरासँगै मुगु, हुम्ला र जुम्लाका दुर्गम गाविसका महिला एकै किसिमका स्वास्थ्य समस्याबाट ग्रसित छन्। सानैमा विवाह भएका उनीहरू छोरा जन्माउनै पर्ने सामाजिक दबाबमा छन्। बाँधु–३ धिमकी महिला स्वास्थ्य स्वयंसेविका रामुदेवी मल्ल उनीहरूलाई सम्झाउन, बुझाउन नसकिएको बताउँछिन्। “परिवार नियोजनका साधन प्रयोग गर्न पनि सबै डराउँछन्” मल्ल भन्छिन्, “छोराको चाहनामा हुने पुरुष त झ्न् कुरै सुन्दैनन्।”
त्यस्तै, रुगिन स्वास्थ्य चौकीकी अनमी प्रेमकला मल्ल यताका महिलाहरू महीनावारी बन्द नहुदासम्म बच्चा जन्माइरहन बाध्य भएको बताउँछिन्। उनका अनुसार, स्वास्थ्य समस्या नभएको महिला कोही छैनन्। त्यही कारण, ४०–४५ वर्षकाहरू ७०–७५ वर्षका जस्ता देखिन्छन्। चेतनाको अभाव र गरीबी त छँदैछ, भौगोलिक विकटताका कारण पनि कोही स्वास्थ्य संस्था जाँदैनन्। रुगिन स्वास्थ्य चौकीका निमित्त प्रमुख धनबहादुर फडेरा भन्छन्, “क्लिनिक चलाउन गाउँमा जाँदा बेग्लै कुरा, नत्र कोही स्वास्थ्य संस्थामा आउँदैनन्।”
स्वास्थ्य संस्थामा पुग्नै कम्तीमा एकदिन लाग्ने हुनाले कोही बिरामी पर्दा झारफुक वा घरेलु उपचारमा लाग्ने गाउँहरूमा नियमित गर्भ परीक्षण, अस्पतालमा प्रसूति जस्ता कुरा कल्पनाको विषय बनेको छ। गर्भवतीहरू घरमा सुत्केरी हुन नसकेर सिकिस्त भएपछि मात्र स्वास्थ्य संस्था सम्झ्ने चलन कायम रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रकी नर्स हेमु श्रेष्ठ बताउँछिन्। बाजुरा जिल्ला अस्पतालमै पनि घरमा बच्चा जन्माउन नसकेका महिलाहरू मात्र आउने गरेको नर्स सुनिता केसीको अनुभव छ। उनी भन्छिन्, “अत्यधिक रक्तस्राव भएर अन्तिम अवस्थामा मात्र आइपुग्ने त्यस्ता आमा र बच्चा दुवैलाई बचाउन मुश्किल पर्छ।”
सुदूर र मध्यपश्चिम पहाडका अधिकांश महिलालाई उमेर ढल्केपछि बच्चा जन्माउनुहुँदैन भन्ने जानकारी छैन। यस भेगका महिलाका स्वास्थ्य समस्याको अनुसन्धान गरेकी डा. अरुणा उप्रेतीका अनुसार, धेरै छोरा जन्माउनुपर्ने दबाबले उनीहरूलाई उमेर ढल्किसक्दा पनि सुत्केरी भइराख्न बाध्य पारेको छ। त्यसले गर्दा अधिकांश महिला सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, पाठेघर खस्ने, पाठेघरको क्यान्सर, प्रजनन् अङ्गहरूमा संक्रमण जस्ता गम्भीर स्वास्थ्य समस्यामा परेको उनी बताउँछिन्। “पछौटेपन कति भने महिलाहरू परिवार नियोजनबारे खुलेर कुरासम्म गर्न सक्दैनन्”, डा. उप्रेती भन्छिन्, “यसले गर्दा उनीहरूलाई सम्झाउन पनि गाह्रो छ।”
दुर्गमलाई समर्पित
बाजुराको बिच्छ्या गाविसलाई कर्मक्षेत्र बनाएकी अनमी प्रेमकला मल्ल दुर्गमकी 'मदर टेरेसा' झै बनेकी छन्।
२२ वर्षदेखि उत्तरी बाजुराको अति विकट बिच्छ्या र आसपासका गाविसका घरघर पुगेर सेवा गरिरहेकी प्रेमकला मल्ल (४०) यस भेगका महिलाले भोग्ने स्वास्थ्य समस्यालाई बिच्छ्याको डरलाग्दो बाटोसँग तुलना गर्छिन्। रुगिन–१ फैतिकी उनी माशिकाको रूपमा २०५० सालमा बिच्छ्या स्वास्थ्य चौकी पुगेकी थिइन्। “त्यसबेला औषधिबारे बुझाउनै सक्दिन कि भन्ने पीर थियो”, प्रेमकला भन्छिन्, “बिरामीहरू स्वास्थ्य चौकी आउनै डराउँथे, आउनुस् भन्दा धामीले निको पारिहाल्छ भन्थे।”
स्वास्थ्य चौकीकी एक्ली कर्मचारी प्रेमकलाले ५/६ महीना प्रयास गरेपछि बिरामी आउन थाले, तर औषधि खान सबै डराउने। धामीले दिने जडीबुटी मात्र देखेका उनीहरूमध्ये कति त औषधि देख्दै अचम्म मान्थे। तिनलाई बुझाउन प्रेमकलाले उमेर ढल्काइन्। त्यसकै लागि जिल्ला सदरमुकाम मार्तडीबाट लगातार चार दिनमा ४० कोस हिंडेर अप्ठ्यारो पहाड चढेकी प्रेमकला यो काम फत्ते गरेर मात्र ओर्लने इरादाले बसेको बताउँछिन्।
सदरमुकाम आउजाउ गर्नुपर्दा उनी एक्लै हिंड्थिन्। अहिले भने विस्तारै चेतना विस्तार भएर गाविसवासीको अवस्था फेरिएको उनी बताउँछिन्। यसबाट आफ्नो पनि दिन फेरिएको उनको मूल्यांकन छ। पहिले आफैं घर–घर पुगेर 'धामीझँक्रीको भर नपर्नुस्, स्वास्थ्य चौकी आउनुस्' भन्दा उनले कैयौं पटक गाली खाएकी थिइन्। धेरै ठाउँमा उनलाई 'हाम्ले मान्दै आएको देउता तिम्ले भन्दैमा मान्न छोड्दैनौं' भन्दै आक्रमण नै गर्न खोजिन्थ्यो। तर, उनी हरेश नखाई 'ढुङ्गा पगाल्न' लागिन्। झाडापखाला लाग्दा, ज्वरो आउँदा, निमोनिया हुँदा, सुत्केरी बेथा लाग्दा धामीको भरपर्नु हुँदैन भनेर सम्झाउन छाडिनन्। अहिले तिनै गाउँले आफैं स्वास्थ्य चौकी आउँछन्, आफ्ना समस्या बताउँछन् र दिएको औषधि खान्छन्। “त्यो देख्दा मलाई आफू सफल भएको खुशी महसूस हुन्छ”, प्रेमकला भन्छिन्, “परिवर्तन भनेको यही त हो नि!”
बाहिरका मानिसको अनुहारै दुर्लभ हुने दुर्गममा २२ वर्ष बस्दा उनले आफ्नै लागि पनि कडा मिहिनेत गरिन्। २०४८ सालमा कक्षा आठ उत्तीर्ण गरेर नेपालगञ्जको भेरी अञ्चल अस्पतालबाट माशिका पास गरेकी उनले त्यसको १८ वर्षपछि २०६६ मा रुगिनको शैलेश्वरी माविबाट दोस्रो श्रेणीमा एसएलसी गरिन्। आफ्नो अगाडि आइपरेका धेरै स्वास्थ्य समस्या समाधान गर्न नसकेर अनमी पढ्ने इच्छा जागेपछि नै एसएलसी गरेको उनी बताउँछिन्। त्यसरी २०६९ सालमा अनमी पढेकी प्रेमकलालाई गाउँमा सबैले 'डाक्टर' भन्दा आफू एमबीबीएस हुँ कि जस्तो लाग्छ।
रु.९०० तलबमा सेवा शुरू गरेकी उनी अहिले मासिक रु.३० हजार बुझिछन्। माशिकाको रूपमा एउटै गाविसमा २२ वर्ष विताएकी उनी जीवनको पहिलो बढुवासँगै रुगिन स्वास्थ्य चौकीमा भएको घरपायक सरुवाबाट खुशी नहुने कुरै भएन। अनमी प्रेमकला मल्ललाई २०७३ वैशाखदेखि मार्तडीबाट ३० कोस टाढाका रुगिनवासीले 'डाक्टर' भनिरहेका छन् र उनले त्यो विश्वासलाई कायम राखेकी छन्। “धेरैलाई मृत्युको मुखबाट तानेकी छु” उनी भन्छिन्, “यसमा मैले निकै अनुभव र आत्मविश्वास पनि लिएकी छु।”
उनको अनुभवमा, दुर्गमका महिलाहरू झाडापखाला, कुपोषण, निमोनिया, ज्वरो जस्ता सदावहार समस्यासँगै यौनाङ्गबाट सेतो पानी बग्ने, पाठेघरको संक्रमण, पाठेघर खस्नेलगायतका समस्याबाट पीडित छन्। त्यसमाथि छँदैछ– औषधिको अभाव र बर्थिङ सेन्टरमा सरसामानको कमी। आफैंले उपचार गर्न नसकी बिरामीलाई रिफर गर्नुपर्दा निकै दुःख लाग्ने बताउँदै प्रेमकला “हिंड्नै नसक्ने गर्भवती र अरू बिरामीलाई कोल्टी वा नेपालगञ्ज जानुस् भन्नुपर्दा साह्रै पीडा हुन्छ।”
प्रेमकलालाई निजी जीवनको विडम्बना के लाग्छ भने, 'कम उमेरमा विवाह गर्नुहुन्न, बच्चा जन्माउनै हुन्न' भनेर रातदिन अरूलाई सम्झाउँदा सम्झाउँदै उनको आफ्नै विवाह गर्ने उमेर बित्यो। उनका चार दिदीबहिनीको घरबार बसिसकेको छ। “बुढेसकालमा एक्लो हुन्छु कि जस्तो लाग्छ, कहिलेकाहीं”, उनी भन्छिन्, “त्यस्तो बेला सकुन्जेल सेवा गर्छु, नसक्ने भएपछि एक थोक होला भनेर चित्त बुझाउँछु।”