एमाले अध्यक्षमा पुन: ओली निर्वाचित
नेकपा (एमाले)को अध्यक्षमा पुनः केपी शर्मा ओली निर्वाचित भएका छन्।
मंगलबार भएको निर्वाचनमा भीम रावललाई पराजित गर्दै ओली पुनः निर्वाचत भएका हुन्। एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार, एक हजार ९२७ मत गणना हुँदा ओलीले एक हजार ७१४ मत प्राप्त गरेका छन्।
निर्वाचनमा दुई हजार ९६ मत खसेको थियो। अहिले १६९ मत गणना भइरहेको छ। एमालेको केन्द्रीय निर्वाचन आयोगले औपचारिक रूपमा विजयी घोषणा गर्न बाँकी छ।
ओली यसअघि नवौं महाधिवेशनमा माधवकुमार नेपाललाई थोरै मतान्तरले पराजित गर्दै अध्यक्ष बनेका थिए।
वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल निर्विरोध निर्वाचित भइसकेका छन्। सोमबार वरिष्ठ उपाध्यक्षमा उनको मात्रै उम्मेदवारी परेको थियो।
त्यस्तै, महासचिवमा शंकर पोखरेल पनि निर्विरोध निर्वाचित भएका छन्। यससँगै उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध निर्वाचित भएका छन्। सोमबार तीन उपमहासचिवका लागि उनीहरूको मात्रै उम्मेदवारी परेको थियो।
को हुन् ओली ?
एमालेका नवनिर्वाचित अध्यक्ष ओली बुबा मोहनप्रसाद ओली र आमा मधुमाया ओलीको कोखबाट ८ फागुन २००८ मा तेह्रथुममा जन्मिएका हुन्। २०२० सालमा परिवारसँगै झापा बसाइँ सरेका उनी २०२३ सालमा मार्क्सवादी अध्ययन दलमा सङ्गठित भए।
२०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेका उनी ९ जेठ २०२७ देखि भूमिगत भए। २०२८ सालमा झापा आन्दोलन सङ्गठन कमिटीको प्रमुखमा मनोनीत भए।
२३ असोज २०३० मा राज्य विप्लव तथा विध्वंसात्मक कार्यमा संलग्न रहेको जस्ता आरोपमा पक्राउ परेका उनी १४ वर्ष जेल परे। त्यसबीचमा ४ वर्ष उनलाई गोलघरमा राखिएको थियो।
कारागारमै छँदा ११ पुस २०३५ मा उनले नेकपा (माले)को संस्थापक नेताको हैसियत पाए। ११ असार २०४४ मा रिहा भएपछि २ पुसमा बसेको बैठकले मालेको केन्द्रीय सदस्यमा मनोनीत गर्यो। त्यति वेला उनले लुम्बिनी अञ्चल इन्चार्जको जिम्मेवारी पाए।
१ फागुन २०४७ मा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको संस्थापक अध्यक्ष बने। २०४८ सालको चुनावमा झापा–६ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित उनले २०४९ सालमा एमाले विदेश विभाग प्रमुखको जिम्मेवारी पाए।
२०५० सालमा पोलिटब्यूरो सदस्यमा निर्वाचित उनले प्रचार विभाग प्रमुखको पनि जिम्मेवारी पाए। २०५१ सालको मध्यावधि निर्वाचनमा झापा–२ बाट पुनः प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए।
२०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारमा गृहमन्त्री बनेका ओलीले त्यही वर्ष पार्टीमा संसदीय विभाग प्रमुखको पनि जिम्मेवारी पाए।
उनी २०५४ सालमा स्थायी कमिटी सदस्य निर्वाचित भए। २०५६ मा झापा–६ बाट सांसद बनेका ओली संसद्मा प्रमुख प्रतिपक्षी दलको उपनेता बने।
२०६२/६३ को जनआन्दोलनपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उपप्रधान तथा परराष्ट्र मन्त्री बनेका ओली २०६४ को संविधानसभा चुनावमा भने झापामै पराजित भए। २०६५ फागुनमा भएको आठौं महाधिवेशनमा झलनाथ खनालसँग अध्यक्षमा हारे।
२०७० को संविधानसभा चुनावमा झापा–७ बाट निर्वाचित उनी संसदीय दलको नेतामा निर्वाचित भए। १ साउन २०७१ मा भएको नवौं महाधिवेशनमा माधवकुमार नेपाललाई पराजित गर्दै अध्यक्ष निर्वाचित भए।
२४ असोज २०७२ मा प्रधानमन्त्री निर्वाचित उनी ३ फागुन २०७४ मा दोस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित भए। १४ मंसीर २०७८ मा भीमबहादुर रावललाई पराजित गर्दै दोस्रो पटक एमाले अध्यक्षमा निर्वाचित भएका छन्।